Prakash Adhikari November 3, 2020

 

अबुधाबी(संयुक्त अरब इमिरेट्स), १८ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करणको ५५ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै प्ले अफ तथा शीर्ष २ मा स्थान पक्का गरेको छ।

सोमबारको खेलमा पराजित भए पनि बैंगलोरले पनि प्ले अफ पुग्ने सौभाग्य पाएको छ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १ ओभर बाँकी रहंदा ४ विकेट गुमाएर पूरा गर्यो।

दिल्लीको लागि अजिंके रहानेले ६०, शिखर धवनले ५४, मार्कस स्टोइनिसले १०, पृथ्वी शाँले ९, रिशभ पन्तले अविजित ८ तथा कप्तान श्रेयस ऐयरले ७ रन बनाए।

दिल्लीलाई रोक्ने क्रममा बैंगलोरको बलिंगमा शाहबाज एहमदले २ विकेट लिए भने वासिंगटन सुन्दर र मोहम्मद सिराजले समान एक एक विकेट लिए।

बैंगलोरको ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।

Image

बैंगलोरको लागि ओपनर देभदत्त पडिक्कलले ५०, एबी डी भिल्लियर्सले ३५, कप्तान बिराट कोहलीले २९ , शिभम दुबेले १७ तथा जोश फिलिपले १२, इशुरु उदानाले ४ र सहबाज अहमदले एक रन बनाएका थिए।

बैंगलोरलाई रोक्ने क्रममा दिल्लीका एनरिक नोर्कियाले सर्वाधिक ३ विकेट लिए भने कागिसो रबाडाले २ विकेट तथा रभीचन्द्रन आश्विनले एक विकेट लिए।

बैंगलोर हारेर पनि प्ले अफमा

सोमबार दिल्ली र बैंगलोरको खेलको समाप्तिपछि दिल्ली प्ले अफमा चयन भैसकेको छ । मुम्बईले यस पहिले नै आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने राजस्थान रोयल्स,चेन्नाई सुपर किंग्स र किंग्स ११ पञ्जाब प्लेअफको दौडबाट बाहिरिसकेका छन् । दिल्लीसंगको हार पछि लिग चरणका पूरै खेल खेलिसकेको बैंगलोरको अंक सोही अवस्थामा रहेको कोलकोताको समान १४ रहन गएको छ तर रन रेटमा कोलकोता भन्दामाथि परेकोले बैंगलोरले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न पाएको हो । कोलकोताको नेट रन रेट मानस ०.२१४ रहेको छ भने बैंगलोरको माइनस ०.१७२ रहेको छ ।

बैंगलोरले कोलकातालाई नेट रन रेटमा पछि पार्न सोमबारको खेलमा दिल्लीले १७.३ ओभरमा कम्तिमा १ सय ५३ रन बनाउनु हुदैनथ्यो। यस्तै दिल्ली प्लेअफ पुग्नका लागि १७.३ ओभरमा १ सय ३४ रन रन बनाए मात्र पुग्थ्यो। इनिंगको १७ ओभरमा १ सय ३४ रन बनाउदै दिल्ली प्लेअफ पुग्यो भने १७.३ ओभरमा दिल्लीले १ सय ३७ रन मात्र बनाउन सकेपछि बैंगलोरको पनि प्लेअफ स्थान पक्का भएको थियो।

प्लेअफमा दिल्ली र मुम्बईको भिडन्त

शीर्ष २ स्थान पक्का गरेको दिल्लीले अब पहिलो क्वालिफायरमा नोभेम्बर ५ तारिख बिहिबार मुम्बई इण्डियन्ससंग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। पराजित हुने टिमले अंकतालिकामा तेश्रो र चौथो स्थानमा हुने टिमबीच इलिमिनेटरमा विजयी हुने टिमसंग प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटरमा विजयी हुने टिम फाइनल पुग्नेछ।

इलिमिनेटरमा बैंगलोरसंग खेल्ने टिमको निर्क्यौल हैदरावाद र मुम्बईबीच मंगलबार लिगको अन्तिम खेलपछि हुनेछ। हैदरावाद विजयी भए बैंगलोरसंग इलिमिनेटर खेल्ने पक्का हुनेछ भने पराजित भए कोलकाता प्लेअफमा स्थान सुरक्षित गर्दै बैंगलोरसंग भिडनेछ।

Share Now

Leave a comment.