
काठमाडौं, ९ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन शृङला दुई दिने औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शृङलाको नेपाल भ्रमणको औपचारिक घोषणा परराष्ट्र मन्त्रालयले गरेको हो ।
नेपाल भ्रमणको सिलसिलामा उहा बिहीबार (मंसिर ११ गते) काठमाडौं आइपुग्ने हुनेछ । “परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
श्रृङलाको नेपाल भ्रमण दुई देशबीच हुने उच्च स्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्रले जनाएको छ । “भ्रमणको पहिलो दिन दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ, जहाँ नेपाल–भारत सहयोगको सबै क्षेत्रमा छलफल हुनेछ,” परराष्ट्रले भनेको छ ।
मंसिर ११ गते नै भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने जनाइएको छ । भ्रमणका बेला उहाले कोभिड–१९ सम्बन्धी सहायता नेपाललाई हस्तान्तरण गर्नुहुनेछ । भारतीय विदेश सचिव शृङला शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय विदेश मन्त्रालयले पनि भ्रमणका विषयमा विज्ञप्ति निकालेर दुई दिने भ्रमणको जानकारी गराएको छ ।