सानोथिमी(भक्तपुर),१८ माघ । देशमा रहेका क्षयरोगीको तथ्यांक एकिन गर्नका लागि भक्तपुरबाट नमुना सर्वेक्षण आरम्भ भएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्र सानोथिमी भक्तपुरले नेपाल सरकार, ग्लोबल फण्ड, एल एच एलको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठन र जापानी संस्था आर टि आईको प्राविधिक सहयोगमा नमुना सर्वेक्षण थालेको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ५५ जिल्लाको ९९ स्थानमा सञ्चालन हुने केन्द्रका निर्देशक डाक्टर केदारनरसिंह केसीले जानकारी दिएका छन्।
विगतमा विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ४४ हजार नयाँ क्षयरोगी थपिने अनुमानित तथ्यांक दिएपनि राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण– २०१७ गरेपछि वास्तविक क्षयरोगीको संख्या थाहा हुनेछ ।
सर्वेक्षणका लागि छानिएका ९९ क्लस्टरमा हरेकमा करिब ६ सय शंकास्पद रोगीलाई बोलाइने छ ।
त्यसपछि पहिलो चरणमा उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श दिनेछन् । त्यसपछि चिकित्सकले जाचँ गर्नेछन् ।
उक्त कार्यपछि एक्स–रे गरिने छ । एक्स–रेमा दाग देखिएमा खकार परीक्षण, कल्चर र जेनएक्सपर्ट जस्ता चिकित्सा विधि अपनाइने छ । यदि क्षयरोग देखिएमा उपचार गरिनेछ ।
विगतमा नेपालमा प्रत्येक दिन १ सय २० नयाँ रोगी भेटिने गरेको र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको थियो ।
करिब १८ महिनाको नमुना यो सर्वेक्षणपछि नेपालमा रहेका क्षयरोगीको अनुमानित संख्या एकिन हुनेछ ।
अनुमानित बजेट कति रु
राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणमा नेपाल सरकार र अन्य विभिन्न संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
नेपाल सरकारले २३ करोड, ग्लोबल फन्टको १७ करोड , एलएचएल नर्वेको ३ करोड रुपैंयाआर्थिक सहयोग रहेको छ । विश्व स्वास्थ्य संगठन र जापानी संस्था आर टि आई को प्राविधिक सहयोगमा नमुना सर्वेक्षण गर्ने हुन लागेको हो ।
केन्द्रको अनुसार यो एउटा नमुना सर्वेक्षण हो । जुन स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको लामो प्रयासपछि हुन लागेको छ । यसको लागि विज्ञटोलीले निश्चित स्थान तोकेको छ । जहाँ ६ सय मानिस घडिको सुई घुमेजस्तो गोलाकार वृत बनाउदैं शंकास्पद रोगी छनोट गरिएको छ । जुन नेपालको हिमाल, पहाड र तराई सबै भूभागलाई समेटिएको छ । त्यसैले विगतको भन्दा विश्वासीलो तथ्यांक आउने विश्वास गर्न सकिन्छ । तर त्यसकोलागि भने करिब १८ महिना समय धैर्य गर्नु पर्ने देखिन्छ ।