पोखरा(कास्की) । १६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार पोखरामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले धरान एफसिलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
सुमन लामाले पुलिसकालागि पेनाल्टीमा २२ औ मिनेटमा गोल गरेका थिए । रोमन लिम्बुले रबि पासवानलाई डि -बक्स भित्र लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो ।
पुलिसका शत्रुघ्न चौधरी म्यान अफ दि म्याच घोषित भए । उनले रु.५००० प्राप्त गरे ।
अब शनिवार माघ २० गते नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच उपाधिको लागि फाइनल खेल हुनेछ।
साहारा क्लब, पोखराको आयोजनामा भैरहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद रु ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।