न्यूयोर्क(संयुक्त राज्य अमेरिका),२७ माघ । संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा सिरियाका लागि क्षेत्रीय मानवीय संयोजक पानोस मुम्ट्सिसले सिरियामा मानवीय कूटनीति पूर्ण रूपमा विफल भएको बीबीसीलाई बताएका छन्।
राजधानी दमासकस नजिकैको पूर्वी गुटाबारे बोल्दै उनले त्यहाँको अवस्था निकै नाजुक रहेको बताएका हुन्।
विद्रोही नियन्त्रित उक्त क्षेत्रलाई सिरियाली युद्ध विमानहरूले पाचौं दिन पनि निसाना बनाइरहेका छन्।
उक्त लडाइँ अन्त्य गर्न पटकपटक आह्वान गरिए पनि पूर्वी गुटा क्षेत्र घेराबन्दीमा छ।
अभाव
त्यहाँ खाद्यान्न, पानी र औषधी उपचारसम्बन्धी सामाग्रीको अभाव बढ्दै गएको छ।
दुई महिनायता उक्त क्षेत्रमा कुनै पनि मानवीय सहायता सामाग्री पुगेको छैन।
मुम्ट्सिसले ७ सय मानिसहरूलाई औषधी उपचारका लागि तत्काल त्यहाँबाट अन्यत्र लैजानुपर्ने अवस्था रहेको बताएका छन्।
सरकारको हवाइ आक्रमणका क्रममा कम्तीमा दुई सय मानिसहरूको ज्यान गएको छ।
उक्त क्षेत्रमा करिब ४ लाख मानिसहरू फसिरहेको अनुमान गरिएको छ।

आह्वान
बिहीवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा मस्कोले युद्धविरामको आह्वान यथार्थवादी नभएको बताएको छ।
सहायताकर्मीहरूले सिरियामा महिना दिन लामो मानवीय युद्धविराम गर्न गरेको अपिललाई अनुमोदन गर्न सुरक्षा परिषद्को उक्त बैठक असफल भएको थियो।
रूसी राजदूत भसिली नबेन्जियाले मस्कोले युद्धविराम भएको हेर्न चाहे पनि उनकै शब्दमा आतंकवादीहरूले त्यसमा सहमति नजनाउने बताएका थिए।
बैठकको अनुरोध गर्ने कुवेत र स्वीडेनले सिरियामा खस्कँदै गएको मानवीय संकट सम्बोधनका लागि आफूहरुले अन्य उपायबारे सोचिरहेको बताए।








