भरतपुर(चितवन), माघ २७ । आओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताको मार्गबाट पछाडी फर्कने संकेत गरेका छन् ।
शनिवार चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन, म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण भएको बताउदै शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै आफूले जीवन समर्पित गरेको दावी पनि गरे ।
उनले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको पनि दावी गरे ।
पार्टी एकीकरण र संसद तथा सरकारमा प्रदेशदेखि केन्द्रसम्म माओवादीलाई किनारा पार्ने ढंगले एमाले नेताहरुको अभिव्यक्ति आएको र सम्मानजनक एकीकरणलाई उपेक्षा गरिएको माओवादी कार्यकर्ताको गुुनासोलाई उनले संबोधन गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए ।
यस अगाडिका सार्वजनिक अभिव्यक्तिमा पार्टी एकता र एकीकृत कम्युनिष्ट शक्तिको वकालत गर्ने माओवादी अध्यक्षको शनिवारको अभिव्यक्तिलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
खासगरि शुक्रबार एमाले माओवादी एकता संयोजन समितिको बैठकबाट निर्णायक प्रस्तावको अपेक्षा सहित छिट्टै पार्टी एकीकरणको खाका सार्वजनिक हुने र सरकार तथा संसदका पदीय भागवण्डा पनि मिल्ने आशा गरेका सबैले माओवादी अध्यक्षको शनिवारको अभिव्यक्तिबाट एकीकरण प्रक्रिया भाडिएको अनुमान गरेका छन् ।
शनिवारको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमालेको कुनै नामोच्चारण नै गरेनन् भने नेपाली कांग्रेसका नेता र १२ बूँदे सहमतिको राम्रो वकालत गरेका थिए ।
उनले देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो’ भन्दै प्रश्न गरेका थिए ।
कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन ।’
अध्यक्ष प्रचण्डले संविधान निर्माणको बेला देखिएको जटिलता सिर्जना भएको बेला प्रतिपक्षको भूमिका छोडेर मियोको रुपमा काम गरेको, संविधान निर्माण र कार्यान्वयनका बेला बिभिन्न पार्टी र समूहबीच तिक्तता बढेको बेला मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गर्दै भने, ‘इतिहासमा मेरो भूमिका राजनीतिक शक्तिदेखि बिभिन्न सामाजिक, सांस्कृतिक भौगौलिक जातजाति, समूह वर्गका बीचका विवादलाई साम्य पार्ने मियोको रुपमा रहँदै आएको छ । अहिले पनि म सबैको भूमिकाको मूल्यांकन गर्दै समृद्धिको यात्राको संकल्प बोकेर अघि बढेको छु ।’
दोश्रोपटक प्रधानमन्त्री बन्नुपरेको सन्दर्भको चर्चा गर्दै अध्यक्ष प्रचण्डले देशको राष्टियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि आफूले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेको बताए ।
उनले देश नै टुक्रिने हो कि भन्ने आशंका रहेको बेला सबैलाई एकै ठाउँ ल्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार गर्नु निकै ठूलो चुनौती भएपनि जनताप्रतिको उत्तरदायित्वबोध गरेर सबैलाई मिलाएर अघि बढ्न सकेको बताए ।
उनले भने, ‘ मेरो भूमिका देखेर नै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईको काँधमा छ भनेर अस्पतालको सैय्याबाट भन्नुभएको थियो । मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो । अहिले पनि यही भूमिकामा छु । भोलीका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु ।’
धार्मिक कार्यक्रममा सहभागी हुने कुरालाई गलतरुपमा चित्रण गरिएकोमा आपत्ती व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राज्यले धार्मिक आस्थाका आधारमा विभेद गर्दै आएकोले धर्म निरपेक्षताको लडाई गरिएको जिकिर गरे ।
‘व्यक्तिको धार्मिक आस्थाको हामीले सधैं सम्मान गर्छां, तर राज्यका लागि सबै धर्म समान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ’उनले भने , ‘त्यसैले म सबै धर्मका कार्यक्रममा समानरुपमा सहभागी हुँदै आएको छु । राज्यले कुनै धर्मलाई काखा र कुनैलाई पाखा लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’
अध्यक्ष प्रचण्डले गुम्बाको उदघाटनका साथै अवलोकन समेत गरेका थिए ।