विण्डहोक(नामिविया), १ फागुन। आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को नामिबियमा भैरहेको आफ्नो चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले हराएको छ ।
टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई १७७ रन मात्र बनाउन दियो ।
केन्याका लागि ओपनरद्वय इरफान करिम र एलेक्स ओबान्डाले मात्र उत्कृष्ट शुरुवात गर्दै क्रमश ४२ र ४१ रन बनाए ।
केन्याको ब्याटिङ लाईन ध्वस्त पार्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । सन्दिपले जारी प्रतियोगितामा हालसम्म कुल १६ विकेट लिईसकेका छन् ।
१ सय ७८ रनको जवाफी लक्ष्य पछ्याएको नेपालले भने ४९।५ ओभरमा ७ विकेट गुमाएर रोमाञ्चक जित हात पार्न सफल भयो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले समान ४२–४२ रनको महत्वपूर्ण योगदान दिए ।
सोमबारको नतिजासँगै नपाल ४ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानमा रहेको क्यानडाको समान ६ अंक छ र नेट रनरेटका आधारमा शिर्ष स्थानमा छ ।
क्यानडाले एक खेल कम खेलेको छ ।
यो जितसँगै नेपालले यसै बर्ष जिम्बाब्वेमा हुने विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाएको छ ।
प्रतियोगिता अन्तरगत नेपालले आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ ।