Prakash Adhikari February 13, 2018

काठमाडौं, १ फागुन । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।

माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

समुद्र मन्थनका बेला निस्केको विषपान गरी शिवले लोकको रक्षा गरेको प्रसंग पुराणहरूमा उल्लेख छ।

महाशिवरात्रिका अवसरमा नेपालको काठमाडौंस्थित पशुपतिनाथ, भारतका द्वादशलिंगलगायत स्थानमा श्रद्धालुको घुइँचो लाग्छ।

पशुपतिनाथको दर्शन गर्न भारतदेखि साधुसन्त, बाबा तथा सर्वसाधारण आउने गर्छन्।

प्रवासी नेपालीहरुले पनि आफू पुगेको स्थानमा नेपाल र हिन्दुहरुको परिचया दिने देवाधिदेव महादेवमो मन्दिर पशुपतिनाथ स्थापना गरी पूजा अर्चना गर्ने गरेका छन् ।

Share Now

Leave a comment.