बुटबल(रुपन्देही), ३० भाद्र । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिनुभएको छ ।
उहाँले मुख्यमन्त्री पोखरेलविरुद्ध आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्नुभएको हो ।
उहाँले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गर्नुभएको छ।
रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गर्नुभएको छ। उहाँले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताउनुभयो ।
वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाउनुभएको र उहाँले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिनुभएको छ।
दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताउनुभयो ।
वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ ।


















