कीर्तिपुर(काठमाडौं), १८ असोज । एभरेष्ट प्रिमियर लिग अन्तरगत सोमबार भएको दोस्रो खेलमा पोखराले काठमाडौंलाई डीएल मेथडका आधारमा १४ रनले पराजित गरेको छ ।
काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन बनाउँदा टीयू मैदानमा पानी पर्न थालेपछि खेल प्रभावित बनेको थियो ।
त्यसपछि थप खेल हुन सकेन र डीएल मेथडका आधारमा पोखराले जित हात पार्यो ।
कुनै समय ३६ रन हुँदा ४ विकेट गुमाएको पोखराका लागि लक्ष्य पछ्याउनु कठिन देखिएको थियो । तर साहान अराचचिके र विवेक यादवले संयमित ब्याटिङ गर्दै पोखराको इनिङ्स उकासे । विवेकले बलिङमा समेत ३ विकेट लिएका थिए ।
पोखराका लागि साहानले ४३ रन बनाए । यस्तै विवेकले अविजित ४१ रन बनाएका थिए । लोकेशले १८ रन जोडे ।
काठमाडौंका लागि जितेन्द्र मुखिया र गुल्शन झाले समान २ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले अमित श्रेष्ठ र रायन बर्लको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
खेलमाअमितले ५६ रन बनाए । रायनले २ चौका र ३ छक्का मद्दतमा ५० रन जोडे । कप्तान सन्दीप लामिछानेले ३१ रन बनाए ।
रहमानुल्लाह गुर्बाज १२, सुवास खकुरेल २, अशन प्रिएनजन ५, अमर सिंह राउटेला ७ र राजु रिजाल शून्यमा आउट भए ।
काठमाडौंलाई रोक्ने क्रममा पोखराका विवेक यादवले ३ विकेट लिएका थिए । यस्तै विक्रम सोब, किशोर महतो र नन्दन यादवले समान १ । १ विकेट लिए ।
सन्दीपको काठमाडौं पनि दबाबमा
काठमाडौंलाई हराएपछि पोखरा ५ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स प्लेअफमा पुगिसकेका छन् ।
५ खेलबाट ४ जित र १ हारपछि ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको चितवन क्वालिफायरमै पुगेको छ । चितवनले क्वालिफायर जिते सिधै फाइनल पुग्नेछ । चितवनको क्वालिफायर विपक्षी मंगलबार टुंगो लाग्नेछ ।
लिगको अन्तिम खेलमा मंगलबार काठमाडौंले भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ । काठमाडौंलाई प्लेअफ पुग्न भैरहवालाई हराउनुपर्ने बाध्यता छ ।
उद्घाटन खेलमै साविक विजेता ललितपुरलाई हराएर उत्कृष्ट शुरुवात गरेको काठमाडौं त्यसपछि लगातार तीन खेलमा पराजित भयो । ४ खेलबाट १ जित र ३ हारपछि काठमाडौं २ अंकसहित पाँचौं स्थानमा छ ।
काठमाडौंभन्दा अघि साविक विजेता ललितपुर छ । ५ खेल खेलिसकेको ललितपुरको ३ अंक छ । ललितपुर लिगबाट बाहिरिसकेको छैन । ललितपुरको भाग्य पनि अन्तिम खेलमा निर्भर छ ।
यदि काठमाडौंले खेल जितेमा काठमाडौं चौथो हुँदै प्लेअफ पुग्नेछ । भैरहवाले काठमाडौंलाई पराजित गरेमा भने ललितपुर भाग्यमानी बन्दै प्लेअफ पुग्नेछ । जितले भैरहवा शीर्ष दुईमा रहँदै क्वालिफायरमै पुग्नेछ ।


















