Prakash Adhikari February 5, 2022

लिवाड.(रोल्पा), २२ माघ । दिदीको छोराको बिहेमा रूकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुग्नुभयो।

बिहेजस्तो अत्यावश्यक काममा हिँड्नु भएकी उहाँलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो।

सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँड्नुभएकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो। ८ महिनाको छोरीसहित घर हिँड्नुभएकी उहाँलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो। जाडोयाममा बच्चासँगको यात्रा गर्न बाध्य उहाँलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो।

जिल्ला सदरमुकाम लिवाङबाट गङ्गादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भाँसियो। उहाँ गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिनुभयो। लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो।

आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रूकुमपूर्व र रूकुमपश्चिम आवतजावत गर्ने यात्रुहरू अचेल यस्तै समस्या भोग्ने गर्दछन्। यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक।

सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रूकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ।

दैनिक दर्जनौं गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन्।

डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ। बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ। अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरूसमेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन्।

बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्।

सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन।

सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गङ्गादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरु जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्नुहुन्छ।

सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ।

जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ।

जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन्। सङ्घीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ।

विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लाबासीको गुनासो छ।

‘संघ, प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता देखिँदैन’ स्थानीय यातायात व्यवसायी भीम घर्तीले भने, ‘जतिभन्दा पनि सरकारले सुन्दै सुन्दैनन्।’

सडकमा भएका खाल्डाखुल्डी पुरे पनि यातायात व्यवसायीलाई राहत मिल्ने उहाँको भनाइ छ।

१० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरूका नाममा ती सडकको नामकरण गरिएको छ।

सहिद मार्ग नामकरण गरिएका ती सडक आफैं सहिद भएको बताउँनुहुन्छ रुन्टिगढी गाउँपालिकाका स्थानीय युवा नन्दराम खड्का।

‘बाटोको अवस्था हेर्दा सहिदमाथि अन्याय भएको छ’, उनले भने, ‘यो बाटोमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्। तर पनि सरकारले कुनै चासो देखाएको छैन।’

उक्त सडकबाट यात्रा गर्दा धेरै पटक मृत्युको मुखबाट बचेको बताउँदै उहाँले कष्टपूर्ण यात्रा गर्नु यहाँका लागि कुने नौलो विषय नभएको बताउनुभयो।

‘विकासमा पछाडि पारिएको भन्दै रोल्पाबाट जनविद्रोह गरेका नेताहरू सत्तामा पुगे पनि विकासमा तात्विक अन्तर देखिएको छैन’, स्थानीय महिला अगुवा तीर्था आचार्यले भन्नुभयो, ‘सडक सञ्जालका नाममा डाँडाकाँडा छियाछिया भए पनि गुणस्तरीयताको अभावमा सडकहरू मृत्युमार्गका रूपमा देखिएका छन्।’

उहाँले दस वर्ष बन्दुकको त्रास भोगेका रोल्पाली अहिले सडक त्रासमा बच्न बाध्य भएका छन् भन्दै अप्ठ्यारो, असहज र अनिश्चित यात्राले महिलाहरू थप प्रताडित हुने गरेको बताउनुभयो। तर यसतर्फ कसैको ध्यान गएको अनुभव उहाँलाई छैन।

लामो समयदेखि सोही सडकमा गाडी चलाउँदै आएका जीपचालक दीपक थापाका अनुसार सुधारिएको सडकमा कहिल्यै गाडी चलाउन पाइएन।

‘यात्रा सधैं यस्तै कष्टकर हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘हिउँदमा सामान्य पानी पर्दा पनि पहिरो झर्ने र बाटो हिलाम्य हुने गर्दछ। बाटामा भएका ठूल्ठूला खाल्डाखुल्डी र ढुङ्गालाई छल्दै गाडी चलाउनुको विकल्प छैन।’

सडक मर्मतमा सम्बन्धित निकायको लापरबाहीका कारण नागरिकहरू यस्ता समस्या भोग्न बाध्य छन्।

यात्राको मारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी मात्रामा पर्ने गर्दछन्। असहज यात्रा, समयमा घर नपुगिने चिन्ता र असुरक्षाले उनीहरूको यात्रा कष्टकर बन्ने गर्दछ।

Share Now

Leave a comment.