बुटबल(रुपन्देही), ५ चैत्र । नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा सांसद बलदेव शर्मा चयन भएका छन् ।
सोमबार अपराह्न ३ बजेदेखि ५ बजेसम्मको मतदान कार्यक्रमको समय तोकिएका बेला शर्मालाई नेता बनाउन सर्वसम्मति जुटेको गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता डा बुद्धबहादुर थापाले जानकारी दिए ।
दलको नेता बन्न इच्छुक अन्य चार आकांक्षीले मनोनयन फिर्ताको लागि निर्धारित दिउँसो साढे २ बजेसम्मका समयभित्रै मनोनयन फिर्ता लिएपछि शर्मा सर्वसम्मत भएका हुन् ।
संसदीय दलको नेता बन्न रुपन्देहीका शर्माका साथै फकरुद्धिन खाँ, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, पाल्पाका वीरबहादुर राना र दाङका डिल्ली चौधरीले फागुन ६ गते मनोनयन दर्ता गराएका थिए ।


















