Prakash Adhikari August 21, 2022

काठमाडौँ, ५ भाद्र । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभएको हो ।

यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो ।

प्रचण्ड पनि सानेपामा

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेर प्रदीप गिरिप्रति
श्रद्धासुमन अर्पण गर्नुभएको छ ।


उहाँले स्वर्गीय गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताउनुभएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भन्नुभयो, ‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ ।’

 

प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘अहिले उ उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई ।’ उहाँले भन्नुभयो ।

घाँटीको क्यान्सर रोगबाट पीडित गिरिको शनिबार राति उपचारका क्रममा मेडसिटी अस्पतालमा निधन भएको थियो

Share Now

Leave a comment.