मतिना त्वानाबासु/ बीबीसी न्यूज नेपाली
काठमाडौं, ३० असोज । डेङ्गी निको भएको महिना दिन भइसक्दा पनि शरीर चिलाउने‚ गल्ने‚ चाँडै थाक्ने‚ राति निद्रा नपर्ने‚ भोक नलाग्ने‚ बिर्सने जस्ता समस्या भइरहेको कतिपय मानिसहरूले बताएका छन्।
भदौको पहिलो साता डेङ्गीको सङ्क्रमणमा परेका एकान्तकुनाका रमेश तिम्सिनालाई असोजको अन्तिम सातासम्म पनि सञ्चो भएको छैन।
ज्वरोले निकै सताएपछि अस्पताल पुगेर चिकित्सकको सल्लाहमा उपचार गराउनुभएका तिम्सिनाले अनिद्रा‚ अरुचि र अन्य पीडाका बीच तीनपटक रगत परीक्षण गराउनुभयो।
अन्तिम पटकको परीक्षणमा प्लेटलेट्सको मात्रा सामान्य देखिएपछि नियमित काममा फर्किनुभयो तर काम गर्न सक्नुभएन।
ूदुई दशक लामो समयदेखि अध्यापनमा छु। पुस्तकको पानापानासँग अभ्यस्त छु। तर डेङ्गी निको भएपछि पढाउन कक्षामा पुग्दा मेरो मस्तिष्क शून्य भयो। मैले सम्झनै सकिनँ। मैले पढाउनै सकिनँ। सञ्चो नभएको बताएर म कक्षाबाट बाहिरिएँ,ू उहाँले बताउँनुभयो।
यस्तो अवस्था यसअघि कहिल्यै नभोगेको उहाँले बताउनुभयो।
सिफलकी उमाको दैनिकी पनि सामान्य बन्न सकेको छैन। डेङ्गी निको भएको पाँच सातापछि पनि उहाँको शरीरमा पहिले जस्तो तागत आएको छैन।
बढ्दो सङ्क्रमण
कोभिड १९ को प्रकोप सेलाउन नपाउँदै नेपालमा डेङ्गीको सङ्क्रमण उकालो लागेको हो। लामखुट्टेको टोकाइबाट हुने यो रोगका बिरामी घरघरमा छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या ३८ हजार ९ सय १८ पुगेको छ र ४७ जनाको मृत्यु भइसकेको छ।
तर धेरैजसो चिकित्सकहरू यो सङ्ख्या वास्तविक सङ्क्रमितको सङ्ख्या भन्दा कम रहेको बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन भन्नुहुन्छ,”पछिल्लो केही सातादेखि अस्पतालमा सङ्क्रमितको सङ्ख्या घटेको छ। अस्पताल गए पनि सिटामोल नै दिने हो भनेर हजारौँ बिरामी आफैँ घरैमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्। समुदायमा सङ्क्रमितको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा निकै ठूलो छ।:
निजी अस्पतालहरूमा हुने परीक्षणको विवरण पनि सरकारी तथ्याङ्कमा नआउने अधिकारीहरू बताउँछन्।
पोस्टडेङ्गी सिन्ड्रोम
डेङ्गीको सङ्क्रमणकाल जति पीडादायी छ निको भएपछिको समय पनि कष्टप्रद रहेको कतिपयले बताएका छन्।
कमजोरी अधिकांशको साझा समस्या देखिएको छ भने शरीर चिलाउने‚ खाना नरुच्ने‚ निद्रा नलाग्ने‚ उदास हुने जस्ता समस्या कतिपयमा देखिएको चिकित्सकहरू बताउँछन्।
पोस्टकोभिड जस्तै पोस्टडेङ्गी सिन्ड्रोम पीडादायी भएको जनस्वास्थ्यविद्को भनाइ छ।
“भर्खरै मात्र एकजना बिरामी शरीरमा चिमोटेको जस्तो चसक्क चसक्क दुख्छ भन्ने समस्या लिएर आउनु भएको थियो”, डा पुनले भन्नुभयो,”निको भयो भनेर घर गएका बिरामी अनेक समस्या लिएर अस्पताल फर्किनुको अर्थ घर गएपछि पनि उहाँहरूले अपनाउन पर्ने सावधानी र हेरचाहबारे उहाँहरूलाई राम्ररी बुझाउन नसकेर हो कि जस्तो लाग्छ ”
डा. शेर बहादुर पुन , सरुवा रोग विशेषज्ञ
जनस्वास्थ्यविद् रविन्द्र पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो−”डेङ्गी निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘सञ्चो’ भएको छैन। शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्नेरझर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने, बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ।”
“डेङ्गीमा प्लेटलेट्स घट्ने तथा अरुचिको कारण पोषण तत्त्वको अभाव भएको हुन्छ। डेङ्गीको पीडाले गर्दा मनोवैज्ञानिक समस्या पनि देखिन सक्छ। आफ्नो परिवारलाई सर्छ किरु दोहोर्याएर डेङ्गी हुन्छ किरु पहिलेजस्तो स्वास्थ्य हुँदैन कि भन्ने चिन्ता अधिकांश व्यक्तिमा पाइन्छ। आफूलाई पहिले डेङ्गी लागेका अनि अन्य परिवारजनलाई डेङ्गी सरेको केसमा सङ्क्रमितमा ग्लानिबोध हुनसक्छ।”
बुझाउन सकेनौँ कि ?
डेङ्गी सङ्क्रमणको सुरुवाती चरणमा तीव्र अरुचि पैदा हुने भए पनि एक हप्तादेखि १० दिनसम्ममा भने केही सुधार हुँदै जाने गरेको देखिएको भक्तपुरस्थित मध्यपुर अस्पतालका चिकित्सक सुशील केसीले बताउनुभयो।
उहाँका अनुसार यो समयावधि भित्रमा रगतमा देखिने गरेका उतारचढाव पनि धेरैमा सामान्यीकरण हुँदै जान्छ।
त्यसकारण ८ देखि १० दिनको समय पीडादायी हुन्छ। यो अवधिभर सचेत र धैर्य रहन जरुरी रहेको उहाँ बताउनुहुन्छ।

डेङ्गी सङ्क्रमित
रमा थापालाई सङ्क्रमण भएको एक महिनापछि पनि खोकीले सताएको छ। कमला राईका हात गोडा अझै लुला छन्। हरि श्रेष्ठलाई घरको भर्याङ चढ्न अझै समस्या छ। यी र यस्ता समस्या धेरैले भोगिरहेका छन्।
ज्वरो घट्नासाथ डेङ्गीको प्रभाव सकियो भन्ने सोच्न नहुने चिकित्सकहरूको आग्रह छ।
डा.पुनका अनुसार डेङ्गीको सङ्क्रमणबाट पूर्णतया ठिक हुन कम्तीमा महिना दिन वा त्योभन्दा पनि बढी लाग्न सक्छ। व्यक्तिको खानपान र हेरचाहको आधारमा त्यो घटबढ हुन सक्छ।
ूनिको भयो भनेर घर गएका बिरामी अनेक समस्या लिएर अस्पताल फर्किनुको अर्थ घर गएपछि पनि उहाँहरूले अपनाउन पर्ने सावधानी र हेरचाहबारे उहाँहरूलाई राम्ररी बुझाउन नसकेर हो कि जस्तो लाग्छ,ू डा पुन भन्नुहुन्छ।
डेङ्गी के हो र कसरी सर्छ ?
जसले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएको र त्यसपछि पनि उनीहरूमा समस्या केही कम देखिएको चिकित्सकहरू बताउँछन्।
सुरुमै बान्ता भएका सङ्क्रमितहरू खानपिनमा डराउँदा सिकिस्त भएको र पोस्टडेङ्गी समस्या उनीहरूमा बढी देखिएको चिकित्सकहरू बताउँछन्।
रगतमा प्लेटलेट्सको मात्रा सामान्य भएपछि पनि प्रशस्त झोलिलो खानेकुरा‚ पानी‚ दाल‚ फलफूल वा फलफूलको रस खाइरहनु पर्ने कुरा सम्झाउन नसक्दा निको भयो भन्ने व्यक्तिले लामो समयसम्म सञ्चो महसुस गर्न नसकिरहेको चिकित्सकहरू बताउँछन्।
के गरे पीडा कम हुन्छ ?
रमेश तिम्सिनाको सम्झना शक्ति अझै क्षीण छ।
ढिलै भए पनि क्रमिक सुधार भइरहेको बताउने उहाँ भन्नुहुन्छ ूडेङ्गीले धेरै दुख दिँदो रहेछ। खानपान र समयमै औषधी सेवन गर्दा मरि हाल्छुको स्थितिमा नपुर्याउँदो रहेछ। मनोबल चैँ उच्च राख्नुपर्छ।ू

डेङ्गी बढ्दै गएपछि कतिपय स्थानमा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन भएका छन्
मध्यपुर अस्पतालका डा केसी डेङ्गीका बिरामीले ज्वरो कम भएपछि अलिअलि हिँड्ने र आफूले सक्ने सजिला कामहरू गर्नुपर्ने बताउदै भन्नुभयो, “सुतिरह्यो भने उठ्नै पनि सङ्घर्ष गर्नुपर्छ। त्यसैले हिँड्ने कोसिस गर्नुपर्छ।”
कतिपय मानिसहरू सामाजिक सञ्जालको प्रभावमा परेर अनेक औषधी वा अभ्यासको पछाडि लागेको भन्दै उहाँले यसले स्वास्थ्यमा थप जटिल समस्या उत्पन्न गराउन सक्ने सम्भावना रहेको बताउनुभयो।
चिकित्सकको परामर्श लिएर मात्र आवश्यक औषधी वा अभ्यास गर्न उहाँले सुझाउँनुभयो।
निम्न कुराहरू गर्दा पोस्टडेङ्गी समस्या कम गर्न सकिने चिकित्सकहरूको सुझाव छः
- खाना खान मन नलागे पनि पोसिलो तथा झोलिलो पदार्थ खाइरहनुपर्छ।
- यदि केही कारणले ब्लडप्रेसर कम भएमा जीवनजल पानीको सेवन गर्ने।
- सजिला व्यायाम गर्ने।
- एक्लै नबस्ने। सकभर परिवारका सदस्य वा साथीभाइसँग कुराकानी गर्ने।
- चिकित्सकको नियमित सम्पर्कमा रहने। चिकित्सकको परामर्शविना कुनै औषधी सेवन नगर्ने।
- धेरै चिल्लो‚ पिरो र मसालेदार खानेकुरा नखाने।
- मद्यपान वा धुमपान नगर्ने।
- पत्रु खानाबाट टाढै बस्ने।
- नियमित काममा जाँदा पनि समयमै खाना खाने र प्रशस्त पानी पिउने।
- सकभर अप्ठ्यारा कामहरू नगर्ने‚ लामो दूरीका यात्रा तत्काल नगर्ने।
- तन र मनलाई आराम दिने।
- सकारात्मक सोच्ने, मनोबल उच्च राख्ने।


















