काठमाडौँ, १० चैत्र (रासस) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा यहाँ आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।
मन्त्री पुनले भने ,“यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण अगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।”
संविधान जारी भई कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उनले बताए ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद बन्जाडे, पूर्व सभासद्द्वय विनोद पहाडी र तुलसा रानाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
बैठकले घनश्याम बस्यालको नेतृत्वमा ३५ सदस्यीय मञ्चको नयाँ कार्यसमिति र पूर्वसांसद तुलसा राना मगरको नेतृत्वमा नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई शीघ्र टुंग्याउने गरी आवश्यक तयारी गरिएको छ । दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् ।
सकेसम्म चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी तयारी थालिएको छ ।
नेकपा (माओवादी केन्द्र)को शनिवार बसेको केन्द्रीय सचिवालयको बैठकले पनि चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णयसमेत गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले पार्टी एकतालाई चाँडै टुंग्याउने गरी दुवै पार्टीले गृहकार्य अगाडि बढाएको जानकारी दिए ।
उनले आगामी साता एकता प्रक्रियालाई अन्तिम रुप दिने गरी छलफल अगाडि बढाइएको र सोहीअनुसार प्राविधिक एवं सैद्धान्तिक पाटोलाई अन्तिम चरणमा पुर्याइएको बताए ।
एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वैशाख १० गतेका दिन पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर सो समयसीमा भन्दा अगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।
प्रदेश इन्चार्ज हेरफेर
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । नयाँ जिम्मेवारीअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश नं ५ मा मणि थापा, प्रदेश नं ६ मा जनार्दन शर्मा र प्रदेश नं ७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।
प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नं २ का मातृकाप्रसाद यादव, प्रदेश नं ५ का वर्षमान पुन र प्रदेश नं ६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नं ४ का देवप्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।