एजेन्सी । खेलको इन्जुरी समयमा नाटकीय रुपमा स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले दुई गोल फर्काएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजिप्टलाई २–१ ले हराएको छ ।
स्वीजरल्याण्डको ज्युरिचमा सम्पन्न खेलमा अग्रता भने अप्रत्याशित रुपमा इजिप्टले लिएको थियो । दोस्रो हाफको ५६ औं मिनटमा यस सिजन शानदार लयमा रहेका लिभरपुलका फरवार्ड मोहमद सलाहले इजिप्टका लागि गोल गरेका थिए ।
यद्यपि त्यसलाई अन्तिम केहि मिनट जोगाउन नसक्दा इजिप्ट पराजित हुन पुग्यो । पोर्चुगलका लागि कप्तान रोनाल्डोले इन्जुरी समयतर्फ दुई मिनटको अन्तरालमा दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । रोनाल्डोले पहिलो गोल ९०+२ मिनटमा गरे भने दोस्रो गोल ९०+४ औं मिनटमा गर्दै पोर्चुगललाई जित दिलाउन निर्णायक भूमिका खेले ।
आफ्नो गोलस्कोरिङ लयलाई कायम राखेका रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीमा आफ्नो ८१ औं गोलको आँकडा पूरा गरे । साथै यो गोलसंख्यासँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका सूचीमा तेस्रो स्थानमा उक्लिए । रोनाल्डोभन्दा माथि इरानका अली दाई १०९ गोलका साथ शिर्ष स्थानमा छन् भने ८४ गोलका साथ हँगेरीका लिजेण्डरी फुटबलर पुस्कास छन् ।