काठमाडौं, ११ चैत्र । यस बर्ष चैते दशै र रामनवमी एकै दिन परेको छ । यसैले आज विहानैदेखि शक्ति पीठहरुमा घुइँचो लागेको छ ।
असत्यमाथि सत्यको जित तथा असुर शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।
असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।
वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।
राम नवमी पनि आजै
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लाग्ने जनाएको छ ।
अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नवमी परेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।
आइतबार धनुषाको जनकपुरधामस्थित रामजानकी मन्दिरमा विशेष मेला र घुइँचो छ ।
काठमाडौंको वत्तिसपुतलीमा पनि आज दर्शनार्थीको घुइचों लागेको छ ।