काठमाडौं, ११ चैत्र । संसारभरका पर्वतारोहण संस्थाको छाता संस्थाको रुपमा रहेको विश्व पर्वतारोहण संघ(युआईएए(को कार्यकारिणी समितिको दुई दिवसीय बेठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले पर्वतारोहणलाई सबैको लागि पहुँचयोग्य र सुरक्षित बनाउन जोड दिएको छ ।
वैठकले पर्वतारोहणलाई बढी सुरक्षित र पर्वतारोहीहरुलाई बढी सुसूचित बनाउन हरेक भाषामा विश्वव्यापी तालिम दिने अभियानको थालनी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले आफु आरोहण गर्ने हिमाल वा पदयात्रा मार्ग, त्यहाको भौगोलिक अवस्थिति, जलवायु, वन्यजन्तु तथा जैविक विविधता, स्थानीय वासिन्दाको जीवनपद्धति, संस्कृतिका सकारात्मक पाटो र पर्वतारोहणका क्रममा आउने जोखिमका बारेमा पर्याप्त जानकारी पनि भएको र विपत्का बेलामा सुरक्षित गर्ने उपाय जानेका प्रथपदर्शक वा गाईडको उत्पादन र व्यवसायिक आरोहणमा तिनको उपयोग गर्नका लागि हरेक भाषामा तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तो तालीम आरम्भ गर्न नेपालमा पनि संयोजक तोकिएको छ ।
बैठकमा योग्य,प्रशिक्षित र दक्ष पथपदर्शकहरुको उपयोगले यस पर्वतारोहणलाई सुरक्षित बनाउनुको साथै मर्यादित पनि बनाउने धारणा कार्यसमितिका सदस्यहरुले राखेका थिए ।
यसले योग्यता,क्षमता र अनुभवका आधारमा यस क्षेत्रमा लाग्ने पथपर्दशक र भरिया, संचारकर्मी, चिकित्सक आदिको वृत्ति विकासलाई समेत सहज बनाउने तर्क प्रस्तुत भएको थियो ।
पर्वतारोहणमा जाने विदेशी पर्वतारोहीलाई पनि दृश्यावलोकन, विश्व सम्पदा क्षेत्र र मुख्य शहरी केन्द्रहरुमा खटिने गाईडहरु जस्तै ज्ञान,सीप र अनुभव भएको पथप्रदर्शक आवश्यक हुने जिकीर बैठकका सहभागीहरुले गरेका थिए ।
वातावरण संरक्षण पुरस्कार प्रदान
बैठकको समापनका अवसरमा विश्व पर्वतारोहण संघले बर्षेनी दिने पर्वत संंरक्षण पुरस्कार(माउण्टेन प्रोटेक्सन अवार्ड) बाट सन २०१७ का लाग माउण्ट एभरेष्ट वायोग्यास प्रोजेक्टका लागि यसका संयुक्त संस्थापक गेरी पोर्टरलाई प्रदान गरियो । यो आयोजनाले एभरेष्ट बेसक्याम क्षेत्रमा पुग्ने पर्यटकहरुले परित्याग गर्ने मत्रमूत्रबाट ग्यास निकालेर सो क्षेत्रलाई प्रदूषणमुक्त,स्वच्छ र सफा राख्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा सन २०१५ को पर्वत संरक्षण पुरस्कार विजेता भर्टिकल यूनिभर्सिटी प्रोजेक्टका राजन गोयललाई पनि सम्मानित गरिएको थियो । संरक्षण,जीविकोपार्जन र शिक्षामा समर्पित यस संस्थाबाट सञ्चालित आयोजनाले कोशीटप्पुदेखि कञ्चनजंघासम्म सिकाई केन्द्रहरुको स्थापना, आयआर्जनका गतिविधि र विद्यालय तथा क्याम्पसको शिक्षालाई सघाएको छ ।
कार्यक्रममा सन २०१७ को उपविजेता कम्युनिटी एक्सन नेपाललाई पनि सम्मानित गरिएको थियो । यो संस्थाले नुवाकोट, रसुवा,सिन्धुपाल्चोक लगायतका जिल्लाका पिछडिएका क्षेत्रमा विद्यालयको भवन निर्माण र आयआर्जनका कामहरु गर्दै आएको छ ।
२०१८ को लागि प्रस्ताव आह्वान
विश्व पर्वतारोहण संघले पर्वत संरक्षण पुरस्कारको वितरण थालेको छैठौं बर्ष पुगेको उपलक्ष्यमा सन २०१८ का लागि सहभागी हुन आवेदन खुला गरेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा यूआईएएकी पर्वत संरक्षण आयोगकी अध्यक्ष डा. क्यारोलिन अड्किनले पर्वतीय पर्यटनमा केन्द्रीत र दिगोपना सचेत आयोजनाहरु यसमा सहभागी बन्न सक्ने बताईन ।
यूआईएएले यस्तो पुरस्कार विजेतालाई अमेरिकी डलर ५ हजारको प्रोत्साहन पुरस्कार दिदै आएको छ ।