निर्वाचन आयोग समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारीमा ; दलहरुको प्रदेश सांसदको सूचीमा समस्या
काठमाडौं, २६ मंसिर । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरिहेको छ ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ प्राप्त मतको आधारमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभामा चयन गरेर पठाएका उम्मेदवारहरुको सूची आयोगले सार्वजनिक गर्न लागेको हो ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताउनुभएको छ । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ ।
समानुपातिक निर्वाचनतर्फ दलहरुले देशभरबाट पाएको मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । प्राप्त मतअनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमत पार्टीले ५ । ५ सिट समानुपातिकतर्फ पाएका छन् ।
निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ । गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।
ती सूचीमा हिजो आइतबारदेखि नै आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।
निर्वाचन आयोगका एक अधिकृतका अनुसार प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा समस्या नभए पनि प्रदेश सभातर्फ भने कतिपय दलको क्षेत्रीय प्रतिनिधित्वमा समस्या देखिएको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमको सूचीमा समस्या छ । सबैभन्दा धेरै त्रुटि मधेशमा छ । त्यसलाई सुधारेर पेश गर्न आयोगले पत्राचार गरिसकेको छ ।
समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्दै सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नेछ ।
समानुपातिक सूची घोषणा भएको एक साताभित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने आयोगले जनाएको छ ।


















