Prakash Adhikari December 11, 2022

 

काठमाडौं, २५ मंसिर । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी, जनमत पार्टीका सी.के. राउत र माओवादी विद्रोही विप्लव लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश सिफारिस गरेको छ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको छ।

दफा ११६ मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख गरिएको छ।

सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो। नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो।

उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको साहारा लिएको हो।

त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन।

सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ।

अध्यादेश सरकारले राष्ट्रपति समक्ष पठाए पनि राष्ट्रपति भण्डारीले जारी भने अहिलेसम्म गर्नुभएको छैन ।

Share Now

Leave a comment.