काठमाडौं, २२ वैशाख । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूर्व अर्थमन्त्रीहरुले खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना नथप्न सुझाव दिएका छन् ।
अर्थमन्त्री डा.महतले पूर्वअर्थमन्त्रीहरुसंग शुक्रबार गर्नुभएको बजेट परामर्शमा पूर्व अर्थमन्त्रीहरुले त्यस्तो सुझाव दिनुभएको हो ।
छलफलमा पूर्व अर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो ।
छलफलका क्रममा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभएको थियो।
उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागि परेको जानकारी गराए ।
उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । अर्थ मन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।


















