चार्ली एडम्स । बीबीसी न्यूज
लण्डन(संयुक्त अधिराज्य), २३ वैशाख । ब्रिटेनमा राजा चार्ल्स तृतीयको राज्याभिषेक र राजमुकुट पहिरिने समारोह नजिकिँदै गर्दा समारोहमा सहभागी हुने पाहुनाको सूचीमा को को परेका छन् र को छैनन् भन्ने प्रष्ट हुँदै गइरहेको छ।
आगामी मे ६ तारिखका दिन राजा चार्ल्सको क्वीन कन्सोर्ट कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक हुनेछ।
राजाले उक्त समारोह उहाँकी आमाको सन् १९५३ मा भएको यस अघिको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहनुभएको छ।
उक्त समारोहका लागि करिब २ हजार पाहुनालाई निम्तो पठाइसकिएको छ र ती पाहुनाबारे हामीले थाहा पाएको कुरा यस्तो छ।

राजपरिवारका सदस्यहरू
धेरै समारोह जस्तै यसमा पनि परिवारले सबभन्दा महत्त्व पाउनेछ।
त्यसैले यसमा राजा चार्ल्स र क्वीन कन्सोर्ट कमिलाका परिवारहरू सहभागी हुने तय छ।
प्रिन्स र प्रिन्सेस अफ वेल्स, राजकुमार विलियम र क्याथरिन समारोहमा सहभागी हुनुहुने छ।
राजाका बहिनी र भाइः एन, प्रिन्सेस रोयल र एडवर्ड, ड्यूक अफ एडिनबरा पनि सहभागी हुनुहुने छ।
अनेकौँ अनुमानहरूपछि राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनुहुने छ भने उहाँकी पत्नीमेगन सहभागी हुनुहुने छैन।
संयोगबस ह्यारी र मेगनका छोरा राजकुमार आर्चीको चौथो जन्मदिनमा नै राज्याभिषेकको दिन परेको छ।
राजपरिवारका अन्य सदस्यहरू राजकुमार एन्ड्रु, द ड्यूक अफ योर्क जाने ठानिएको छ तर उनकी पूर्व पत्नी द डचिज अफ योर्क सारा फर्गुसन भने समारोहमा जानुहुने छैन।
उहाँहरूका छोरीहरू राजकुमारी बिएट्रिस र राजकुमारी युजीनी पनि समारोहमा सहभागी हुने निश्चितप्राय छ। राजकुमारीहरू राजगद्दीका नवौँ र एघारौँ उत्तराधिकारी हुन्।
राजकुमारी एनकी छोरी जारा टिन्डल र उनका श्रीमान् माइक टिन्डल पनि सो कार्यक्रममा सहभागी हुनुहुने छ।
राजा चार्ल्स र कमिलाका नाति नातिनीहरू पनि त्यहाँ हुनुुहुने छ र केही त्यस दिनको समारोहका हिस्सा पनि बन्नुहुने छ।
राजकुमार विलियम र राजकुमारी क्याथरिनका छोरा राजकुमार जोर्ज, जो उत्तराधिकारीमा दोस्रो क्रममा हुुनुहुन्छ, उहाँ केही “पेजेज अफ अनर” मध्ये एक हुनुहुने छ।
क्वीन कन्सोर्टका नातिहरू गस र लुइ लोपेज, फ्रेडी पार्कर बउल्स र उहाँका भतिजा आर्थर एलिअट उस्तै भूमिकामा रहनुहुने छ र वेस्टमिन्स्टर एबीमा प्रवेश गर्ने समूहमा सहभागी हुनुहुने छ।

राजकुमार जोर्ज
राजनीतिज्ञ, विश्व नेता र विदेशी राजपरिवार
आमन्त्रित २ हजार पाहुनामा प्रमुख राजनीतिक नेताहरू हुनुहुने छ र राज्यको समारोह भएकाले पाहुनाको सूचिमाथि नियन्त्रण सरकारको हुनेछ।
प्रधानमन्त्री ऋषि सुनक, क्याबिनेट मन्त्रीहरू र हाउस अफ लर्ड्सका सदस्य पनि समारोहमा सहभागी हुनुहुने छ।
र रिपोर्टहरूका मुताबिक यूकेका पूर्व प्रधानमन्त्रीहरू लिज ट्रस र टोनी ब्लेयर पनि त्यहाँ हुनुहुने छ। त्यस्तै स्कटल्यान्डका प्रथम मन्त्री हम्जा युसुफ पनि त्यहाँ हुनुहुने छ।

जोन एन्डरसन र श्रीमती मार्गरेट
फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँ समारोहमा सहभागी हुनुहुने छ। राजा चार्ल्सको फ्रान्स भ्रमण विरोध प्रदर्शनका कारण पछाडि सारिएपछि यो समारोह हुन लागेको छ। तर एउटा समाचार स्रोतले द टाइम्सलाई भने अनुसार यूकेप्रति उहाँको “मित्रता र सम्मान” प्रकट गर्न म्याक्रोँ सहभागी हुन लाग्नुभएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडनले राजा चार्ल्सलाई एप्रिलमा भएको एक फोनवार्तामा उहाँ राज्याभिषेक समारोहमा सहभागी नहुने जनाइसक्नुभएको छ तर अमेरिकी प्रथम महिला जिल बाइडेनले उहाँको प्रतिनिधित्व गर्ने निश्चित भएको छ
पोल्यान्डका राष्ट्रपति एन्जे डुडा र अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानेजीले आफूहरू सहभागी हुने योजनामा रहेको बताएका स्थानीय रिपोर्टमा जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस पनि राज्याभिषेक कार्यक्रममा सहभागी हुनुुहुने छ।
राष्ट्रमण्डल समूहका प्रतिनिधि र धार्मिक नेताहरू पनि सहभागी हुने बुझिएको छ।
विदेशी राजपरिवारका सदस्यहरू पनि समारोहमा सहभागी हुनुहुने भएको छ।
मोनाकोका राजकुमार एलबर्ट र राजकुमारी शार्लीन, जापानका युवराज अकिशिनो र युवराज्ञी किको र स्वीडनका राजा कार्ल गुस्ताफ र उहाँकी छोरी युवराज्ञी भिक्टोरिया पनि सहभागी हुनुहुने छ।
गत फेब्रुअरी महिनामा राजासँग चियापानमा सरिक हुनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइअन पनि राज्याभिषेक समारोहमा सहभागी हुनुहुने छ।

राजकुमार चार्ल्स र एम्मानुअल म्याक्रोँ
स्वयंसेवक, सशस्त्र फौज र परोपकारी कार्यकर्ता
राजा चार्ल्स र कमिलाले ८ सय ५० समुदायिक प्रतिनिधिहरूलाई उनीहरूको परोपकारी कामको सम्मानस्वरूप समारोहमा सहभागी हुन बोलाउनुभएको छ।
त्यसमा ४ सय ५० जना ब्रिटिश एम्पायर मेडल (बीइएम) प्राप्तगरेकाहरू र राजपरिवारले चयन गरेका समूहबाट ४ सय जना युवाहरू पनि निम्त्याइएका छन्।
बीइएम सम्मान प्राप्त गरेका अवकाशप्राप्त अग्नि नियन्त्रक जोन एन्डरसनले आफूलाई निम्तो आएकोमा “भाग्यमानी” महसुस गरेको बताउनु हुन्छ।
अर्का निम्तालु किशोर उमेरका म्याक्स वूजी हुनुहुन्छ जसलाई ‘बोइ इन द टेन्ट’ भनिन्छ । उहाँले तीन वर्ष टेन्टमा सुतेर एउटा हस्पिसकालागि खर्च जुटाउने काम गर्नुभएको थियो।

जापानका युवराज र युवराज्ञी
अन्य, ६ हजार भन्दाबढी सशस्त्र फौज पनि समारोहमा सहभागी हुनेछन्। त्यो ७० वर्ष यताकै समारोहमा सरिक हुने सबभन्दा ठूलो सैन्य अपरेशन हुनेछ।
हजारौँ भेटरन र एनएचएस कर्मचारीलाई पनि समारोहका दर्शकका रूपमा निम्त्याइएको छ। उनीहरूले बकिङ्घम राजदरबारको अगाडिपट्टि रहेको विशेष स्थानबाट राज्यारोहण सवारी यात्रा र सैन्य विमानहरूको फ्लाइपास्ट हेर्न पाउनेछन्।
सेलिब्रिटीको सहभागिताबारे अनुमान

तत्कालीन राजकुमार चार्ल्स र जोअना लुम्ले
राजा चार्ल्स र क्वीन कन्सोर्टका प्रसिद्ध मित्रहरूलाई पनि निम्त्याइनेबारे विभिन्न अनुमानहरू लगाइएको छ।
स्काइ न्यूजले डेम जोआना लम्लीले उनीहरूको त्यो दिनको कार्यक्रम प्रसारणमा सहभागी हुनु अघि राज्याभिषेक समारोहमा सहभागिता जनाउने बताएको छ।
अरू ख्यातीप्राप्त मानिसहरू पनि जानेछन्।
सन् २००५ मा तत्कालिन राजकुमार चार्ल्स र कमिलाको सेन्ट जोर्जेज च्यापलमा बिहेको कार्यक्रम हुँदा त्यो समारोहमा धेरै सेलिब्रिटी पनि सहभागी भएका थिए।
डेभिड र भिक्टोरिया बेकम पनि पाहुना सूचिमा हुने हल्ला छ।
उनीहरू दुवै राजकुमार विलियम र क्याथरिन तथा राजकुमार ह्यारी र मेगनको विवाह समारोहमा सहभागी भएका थिए।
र इङ्ग्ल्यान्डका यी पूर्व फुटबल खेलाडीले महारानी एलिजाबेथ द्वितियाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि १२ घण्टा लाइन बसेका थिए।


















