Prakash Adhikari September 30, 2023

सञ्जय ढकाल
बीबीसी न्यूज नेपाली

काठमाडौं, १२ असोज । केन्द्रीय ब्याङ्कले यसै साता प्रकाशन गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार यहाँ भित्रिने वैदेशिक लगानीको ठूलो हिस्सा अनपेक्षित लाग्ने देशहरूबाट समेत आएका छन्।

सबभन्दा धेरै वैदेशिक लगानी दुई छिमेकीबाट छन् भने सूचीमा त्यसपछि रहेका देशहरूको नामले अलि छक्क पार्न सक्छ।

अनपेक्षित सूची
राष्ट्र ब्याङ्कले २०७९ सालको असार मसान्तसम्मको आँकडा अध्ययन गरेर निकालेको उक्त प्रतिवेदनमा त्यतिबेलासम्म नेपालमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीमार्फत भित्रिएको छ।

विभिन्न ५७ देशहरूबाट त्यस्तो लगानी आएको छ।

लगानी भित्रिएका मुख्य पाँच देशको सूचीमा नौला र अनपेक्षित लाग्ने नामहरू पनि देखिन्छ।

१। भारत – रु ८८.६ अर्ब

२। चीन – रु ३३.४ अर्ब

३। आयरल्यान्ड – रु २०.९ अर्ब

४। सिङ्गापुर – रु १६.१ अर्ब

५। सेन्ट किट्स एन्ड नीभिस – रु १५.१ अर्ब

छिमेकी देशहरू भारत र चीन पहिलो र दोस्रो नम्बरमा रहेको स्वाभाविक जस्तो देखिए पनि नेपालको उति धेरै आर्थिक सम्बन्ध नभएको आयरल्यान्ड वा सेन्ट किट्स एन्ड नीभिसबाट त्यति धेरै परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको समाचार कतिपयले अनौठो मानेका छन्।

अझ उक्त सूचीमा ब्रिटिश भर्जिन आइल्यान्ड्स र मरिशस जस्ता देशहरू पनि अग्रपङ्तिमा छन्।

किन यस्तो अनौठो ?

चाहे आयरल्यान्ड होस् वा सेन्ट किट्स एन्ड नीभिस – यी देशहरू थोरै कर लिने अनि व्यवसायसम्बन्धी सजिला कानुनी व्यवस्थाका निम्ति चिनिन्छन्।

यस्ता कतिपय देशहरूलाई अफशोर ट्याक्स ह्याभन पनि भन्ने गरिन्छ।

कैयन् लगानीकर्ताहरूले ती देशमा कम्पनी खोलेर त्यहाँबाट आफ्ना कारोबार गर्छन् ताकि कम कर तिर्नु परोस्।

“हामीले यहाँ रित पुर्‍याएर आएका लगानीको रेकर्ड राख्दा ती देश परेका हुन्। पाँच नम्बरमा सेन्ट किट्स एन्ड नीभिस छ भने १५ नम्बरमा ब्रिटिश भर्जिन आइल्यान्ड्स छ। अब यो विश्वव्यापीकरणको जमानामा विभिन्न किसिमले पैसाको प्रवाह भइरहेका हुन्छन्,” राष्ट्र ब्याङ्कको अनुसन्धान विभागका प्रमुख रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले भन्नुभयो।

अन्यत्रको पैसा समेत ती देशमा पुर्‍याएर त्यहाँबाट लगानीको रूपमा यता भित्रिने गरेको जानकारहरू बताउँछन्।

“त्यस्ता देशबाट लगानी ल्याउँदा के हुन्छ भने त्यस्तो लगानीमा हुने फाइदा त्यहाँ लैजान पाइन्छ र त्यहाँ निकै कम कर तिरे पुग्छ,” राष्ट्र ब्याङ्कका पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले प्रस्ट्याउनुभयो।

“जस्तो भारतको स्टक बजारमा लगानी गर्नेहरू कैयन् मरिशसमा दर्ता गरेका हुन्छन्। मरिशसमा कम्पनी दर्ता गरेर त्यसमार्फत पैसा भारत ल्याउँछन्। भारत र मरिशसबीच दोहोर कर तिर्न नपर्ने खालको सम्झौता छ त्यसैले उनीहरूले उतै कम कर तिर्ने मेसो मिलाएका हुन्छन्।”

 

जोखिम कस्ता ?

त्यसरी आउने रकमप्रति नेपाल सतर्क हुनुपर्ने उहाँले बताउनुभयो।

“जुन ठाउँमा नियमन खुकुलो छ त्यहाँबाट धेरै लगानी आइराख्यो भने अन्तर्राष्ट्रिय समुदायले त्यसलाई शङ्काको नजरले हेर्न सक्छन्,” उहाँले भन्नुभयो।

सम्पत्ति शुद्धीकरणको मामिलामा कमजोर दरिएको नेपालमा त्यसरी रकम ओइरिँदा सम्पत्ति शुद्धीकरण विरुद्धको एसिया प्यासिफिक समूह (एपीजी)को कडा निगरानीमा पर्ने जोखिम बढ्ने उहाँले बताउनुभयो।

“त्यस्ता ठाउँबाट लगानी ल्याउनै प्रतिबन्ध त लागेको हुँदैन तर त्यस्ता लगानी आयो भने विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष वा सम्पत्ति शुद्धीकरण सम्बन्धी एपीजी, एफएटिएफ जस्ता निकायले राम्रो मान्दैनन्,” मानन्धरले भन्नुभयो।

तर अहिले नेपाल भित्रिएका लगानी भने रित पुर्‍याएरै आएको राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताउनुभयो।

स्रोत

रित नपुगेका अनि औपचारिक माध्यमबाट नआएका लगानीलाई अन्तर्राष्ट्रिय समुदायले शङ्कास्पद नजरले हेर्ने गर्छ

“यी लगानी सम्पत्ति शुद्धीकरण गरेर ल्याएको होइन। किनभने यी आधिकारिक दर्ता भएका कम्पनीले प्रक्रिया पुर्‍याएर गरेका हुन्छन्। यहाँ आउँदा पनि उद्योग विभागमा दर्ता भएर अनि पैसा आधिकारिक माध्यमबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादको वित्तीय लगानी नियन्त्रणका जाँच भएर आएका हुन्छन्,” श्रेष्ठले बताउनुभयो।

ती देशमा पैसा लग्दा कर छूटको फाइदा लिन वा यतैको पैसा समेत विभिन्न ढङ्गले त्यहाँ पुर्‍याएर त्यसलाई वैध बनाइएको सम्भावना रहे पनि देशभित्र आउँदा चाहिँ रित पुर्‍याएरै ल्याइएको हुने अधिकारीहरू बताउँछन्।

केन्द्रीय ब्याङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भने यदि विधिवत् रूपमा उचित ब्याङ्किङ माध्यमबाट आएको हो भने यस्ता रकमलाई स्वागत नै गरिनु पर्ने बताउनुहुन्छ ।

“यस्ता अफशोर वित्तीय केन्द्र बनेका देशहरूमा पश्चिमा देशहरूबाट समेत कर छल्न पैसा गएका हुन्छन् भन्ने त प्रस्ट नै छ। त्यसैले सम्पत्ति शुद्धीकरण नियन्त्रणका मापदण्ड पुगेका छन् भने त्यस्ता स्रोत यता आउँदा फरक पर्दैन भन्ने लाग्छ,” उहाँले भन्नुभयो।

स्रोत
प्रत्यक्ष वैदेशिक लगानी सकेसम्म धेरै भित्र्याउने सरकारको उद्देश्य हुन्छ

लगानीकर्ताहरूले कति फाइदा गरेका छन् ?

नेपालमा वैदेशिक लगानीकर्ताहरूले रकम भित्र्याएका मात्र छैनन् त्यसको लगानीबाट भएका फाइदा वा लाभांश पनि मनग्गे फिर्ता लगेका छन्।

आर्थिक वर्ष २०७८। ७९मा मात्रै उनीहरूले १५.७ अर्ब रुपैयाँ लाभांश लगे।

त्योभन्दा अघिल्लो आर्थिक वर्षमा २६ अर्बभन्दा धेरै उनीहरूले लगेका थिए।

राष्ट्र ब्याङ्कले सर्वेक्षण गरेका वैदेशिक लगानीका कम्पनीहरूको क्षमता उपयोग सरदर करिब ७१ प्रतिशत रहेको र त्यो तुलनात्मक रूपमा राम्रो रहेको श्रेष्ठले बताउनुभयो।

साथै, लगानीमा प्रतिफल वा रिटर्न अन इक्वीटी पनि १४.३ प्रतिशतमा राम्रै रहेको उहाँले बताउनुभयो।

सन् २०२२मा दक्षिण एशियामा कुल ५५.९ अर्ब अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो जसमध्ये ४९.४ अर्ब अमेरिकी डलर भारत एक्लैले भित्र्याएको छ।

नेपालले ०.१ अर्ब अमेरिकी डलर मात्र त्यसरी भित्र्याउन सकेको थियो।

Share Now

Leave a comment.