Prakash Adhikari April 27, 2018

वुहान(हुबेई,चीन ), १४ बैशाख(बीबीसी) । दुईदिने चीन भ्रमणको पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको रूपमा मोदीको यो चौथो चीन भ्रमण हो।

तर दुवै नेताबीच यसअघि यस्तो ‘अनौपचारिक शिखर वार्ता’ भएको थिएन।

चीनको मध्य प्रान्त हुबेईको राजधानी वुहानमा भएको ‘अनौपचारिक वार्ता’ मा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले विश्व र द्विपक्षीय मुद्दामा कुराकानी गरेका हुन्।

‘न्यानो स्वागत’

त्यसअघि राष्ट्रपति सीले मोदीलाई हुबेईस्थित एउटा सङ्ग्राहलयमा लगेका थिए। त्यहाँ चिनियाँ कलाकारले भारतीय प्रधानमन्त्रीको स्वागतमा सांस्कृतिक कार्यक्रम गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

मोदीले ‘न्यानो स्वागत’का लागि राष्ट्रपति सीलाई धन्यवाद दिए।

दूरदर्शन न्युजका अनुसार उनले भारत तथा चीनको अर्थव्यवस्थाले विश्वका बाँकी देशको निम्ति निकै महत्त्व राख्ने उल्लेख गर्दै दुवै देशले विश्वमा शान्ति कायम राख्न ठूलो भूमिका निर्वाह गर्न सक्ने धारणा राखेका छन्।

मोदी यसअघि एकपटक द्विपक्षीय वार्ताको निम्ति सन् २०१६ मा जी-२० सम्मेलन र सन् २०१७ मा ब्रिक्स सम्मेलनमा भाग लिन पनि चीन गएका थिए।

खटपट

तर ती भ्रमणपछि पनि गत वर्ष दुई देशबीच कैयौँ पटक मनोमालिन्य परेको देखियो।

चीनले न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी) मा भारतलाई सहभागी गराउन विरोध गरेको थियो।

जैश ए मोहम्मदका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रबाट आतङ्कवादी घोषणा गराउने भारतको प्रयासमा पनि चीनले अवरोध खडा गरेको थियो।

भुटानको सीमास्थित दोक्लाममा दुवै देशबीच करिब अढाइ महिना तनाव कायम रह्यो।

भारत र चीन दुवै एशियाको प्रमुख अर्थव्यवस्थामा पर्छन्।

फेरि चीन

भारत चीनको महत्त्वाकाङ्क्षी परियोजना ‘वान बेल्ट वान रोड’ मा सहभागी छैन। तैपनि दुवै देशले व्यापारिक सम्बन्ध विस्तारमा ठूलो सम्भावना देख्ने गरेका छन्।

मोदीको भ्रमणअघि भारतीय विदेश मन्त्री सुषमा स्वराज सांघाई कोओपरेशन अर्गनाइजेशन (एससीओ) को बैठकमा भाग लिन चीन गएकी थिइन्।

उनले चीनका विदेश मन्त्री वाङ यीसँग वार्ता गरेकी थिइन्। उक्त भ्रमणलाई प्रधानमन्त्री मोदीको भ्रमणको तयारीको रूपमा हेरिएको थियो।

मोदी एससीओ सम्मेलनमा भाग लिन जुन महिनामा पनि चीन जानेछन्। त्यहाँ आठवटा देशका प्रतिनिधि सहभागी हुनेछन्।

त्यस अवसरमा मोदीले राष्ट्रपति शीसँग भेटवार्ताको निम्ति धेरै समय पाउन नसक्ने बताइएको छ।

त्यसैले पनि जारी भ्रमणको द्विपक्षीय भेटवार्तालाई महत्त्वपूर्ण ठानिएको छ।

Share Now

Leave a comment.