रमा पराजुली /बीबीसी न्यूज नेपाली
काठमाडौं, २६ जेठ । छिरिङ जाङ्बु शेर्पा सन् २०१२ मा मे महिनाको २२ तारिखका दिन एकजना जर्मन आरोहीको गाइड बनेर ल्होत्सेको शिखर पुग्नै लाग्नुभएको थियो।उहाँले सुन्नुभएको थियो, चार दिनअगाडि चेक रिपब्लिकका एकजना आरोहीको ल्होत्सेको चुचुरोमा पुग्नै लाग्दा मृत्यु भएको थियो।
८,५१६ मिटर अग्लो ल्होत्सेको करिब ८,५१० मिटर उचाइमा एउटा शवले उहाँहरूको बाटो छेकिरहेको थियो।
शिखरमा पुग्नै लागेका बेला ती आरोहीको मृत्यु कसरी भयो होला भनेर जाँच्ने उत्कट खुलदुली भयो छिरिङलाई।
शवको वरिपरि घुमेर हेरेपछि उहाँलाई लाग्यो, “ती आरोहीको एक हातमा पञ्जा थिएन। सम्भवतः पञ्जा नभएका कारण शिखरमा पुग्न टाँगिएको डोरीमा हातको घर्षणले छोटो समयका लागि उनले हात छोडे।डोरीको सहारामा अडिएको ज्यानको सन्तुलन गडबड हुने बित्तिकै खसेर ढुङ्गामा बज्रिँदा उहाँको सास फुत्क्यो होला ।
बाटोमै लडिरहेको शवको छेउबाट उकालो लागेर छिरिङ र उहाँका सहयात्री चुचुरोमा पुगे।
१२ वर्षपछि ल्होत्से फर्केर तिनै आरोहीको शव उठाउने काम गर्नुपर्ला भनेर त्यसबेला छिरिङलाई सय मनमा एक मन पनि लागेको थिएन।
“१२ वर्षपछि त्यहाँ पुग्दा घाम र हिउँमा ‘एक्सपोज’ भएको छालाको रङ फेरिएर कतै कालो र कतै सेतो भएको रहेछ,” उहाँले भन्नुभयो।
“उनको आधा शरीर हिउँमा गाडिएको थियो,” छिरिड.ले भन्नुभयो ।
अनि त्यो शव त्यही चेक नागरिककै हो भनेर कसरी भन्न सक्नुहुन्छ?
छिरिङले भन्नुभयो “मैले बाह्र वर्ष अगाडि देखेको हो, गुगल गर्नुहोस् न ल्होत्सेको टपमा भएको लास चेक नागरिकको हो भनेर लेखेको पनि छ।”
गुगल गर्दा चेक रिपब्लिकको रेडियोले पनि सन् २०१२ मा आफ्ना एक नागरिकको ल्होत्सेको शिखरमा ज्यान गएको भनेर समाचार प्रसारण गरेको पाइन्छ।
८ हजारभन्दा उचाइबाट शव हटाउने काम
सन् २०१९ देखि सुरु भएको क्लीन हिमालय क्याम्पेन अर्थात् हिमाल सफाइ अभियानमा यस पटक १० टन फोहोर र ८ हजार मिटर उचाइ माथिबाट पाँच शवहरू हटाउने योजना बनाइएको थियो। अन्ततः लक्ष्यभन्दा बढी ११ हजार किलो फोहोर उठाइएको थियो।
नेपाली सेनाका तर्फबाट सफाइ अभियानको नेतृत्व गरेका मेजर आदित्य कार्की भन्नुहुन्छ,“चार शव र एक अस्थिपञ्जर काठमाडौं ल्याएका छौँ,” तीमध्ये अस्थिपञ्जर चाहिँ ५ हजार ६ सय मिटरमा अवस्थित आइसफल क्षेत्रबाट ल्याइएको हो।
“गत वर्षको हिमाल सफाइ कार्यक्रमका बेला नै कुन कुन शव झार्ने भन्ने तय गरिएको थियो,” त्यसै अनुसारको तयारी गरेर १२ जना सैनिक र १८ जना शेर्पा गरी ३० जनाको टोली एप्रिल १३ मा सगरमाथा आधार शिविरतिर लागेको थियो।
यो वर्षको सगरमाथा, ल्होत्से र नुप्त्से बसन्तकालीन आरोहण मे ३० देखि बन्द भएसँगै हिमाल सफाइ अभियानको काम पनि पूरा भएको छ।
र सेनाले लक्ष्य अनुसार काम पनि सम्पन्न गरेको जनाएको छ।
शवलाई नाघ्दै हिमाल चढ्नुपर्ने अवस्था
हिमाल आरोहण क्रम सुरु भएको १ सय वर्ष नाघ्दा सगरमाथाको चीन र नेपाली ‘साइड’मा करिब ३ सय जनाको ज्यान गएको र त्यसमध्ये एक तिहाइ अर्थात् करिब एक सय शेर्पाको ज्यान गएको हिमालयन डेटाबेसको तथ्याङ्क छ।
गत वर्ष मात्र त्यस क्षेत्रमा १४ जनाको मृत्यु भएको थियो। यस वर्ष ६ जनाको मृत्यु भएको छ।
यो वर्ष १४ घण्टामा सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड बनाएकी फुन्जो जाङ्मु लामाले पनि हिमाल चढ्न जाँदा बाटोमा लडेका शवलाई नाघ्दै अगाडि बढ्नु परेको अनुभव सुनाउनुभयो ।
“बाटोमा हिँड्दा हिँड्दै ढलेकाहरूलाई त्यहाँबाट हटाउने काम तुरुन्त गर्न सकिँदैन अनि नाघेर अगाडि बढ्नुबाहेक अरू के हुन्छ र उपाय ?“
अनि, त्यसरी बाटोमा शव देख्दा डर लाग्छ?
“अहँ लाग्दैन। हामी जस्ता बौद्धमार्गीले त्यो तिनको कर्म हो भन्ठान्छौँ,” उहाँले भन्नुभयो ।
तर सन् २०२२ मा सगरमाथा आरोहण गरेकी डा. प्रीति भुसालले कैयौँ आरोहीहरू त्यस्ता शव देख्दा झस्किएको अनुभव सुनाउनुभयो।
“म त मेडिकल पढ्दा नै लाससँग अभ्यस्त भएकाले त्यस्तो केही भएन तर मसँगै आरोहणमा रहेका कतिलाई गाह्रो भएको थियो,“ डा भुसालले भन्नुभयो।
८ हजार मिटरभन्दा तलका उचाइमा शवहरू खोज्ने र पाएसम्म उद्धार गर्ने काम सम्बन्धित र अन्य कम्पनीले गर्ने गरेको तर माथिका शव झार्न भने धेरै महँगो पर्ने भएकाले परिवार र आरोही व्यवस्थापन गर्ने कम्पनी कैयौँले त्यस्ता शव झार्ने प्रयत्न नै नगर्ने गरेको बताइन्छ।
शव झार्ने काम किन जटिल ?
अति भिरालो भूगोल, महँगो खर्च, आठ हजार मिटर माथिको उचाइमा पुग्दा घट्ने भार बहन क्षमता तथा झन्झटिलो प्रक्रियाले शव हटाउने काम चुनौतीपूर्ण हुन्छ।
“पहाडै त हो भनेर मन लागेका बेला तलमाथि गर्न पाइँदैन, भर्याङ र डोरीको सहायतामा हरेक वर्ष हिमाल चढ्ने बाटो बनाउनुपर्छ। बाटो हुँदैमा पनि चढ्न सकिन्न( हिमाललाई ढाकेको घुम्टो खुलेका बेला र हावाको वेग घटेका बेला कुर्नुपर्छ,” छिरिङ भन्नुहुन्छ।
त्यहाँ धेरैजसो १०० किलोमिटर प्रतिघण्टा भन्दा बढीको वेगमा हावा चलिरहेको हुन्छ।
वर्षको कुनै कुनै दिन मात्र र एउटा हावाको चक्रबाट अर्कोमा परिवर्तन हुन लागेका बेलाको ‘विन्डो’मा मात्र हिमाल चढ्न पाइन्छ।
त्यसैकारण शव तल झार्नु हिमाल आरोहणभन्दा मुस्किल हुने नै भयो।
छिरिङका अनुसार ८ हजार मिटरभन्दा माथि हिउँ खोतल्ने काम पनि कम उचाइको तुलनामा असाध्यै धीमा गतिमा हुन्छ। अलिकति पानी, सातु र चकलेटको भरमा काम गरिरहेका मानिसहरू थकान र कमजोर महसुस गरिरहेका हुन्छन्।
“मैले नै कति पटक अमिलो पानी छादेँ, कतिलाई खोकी लाग्यो, कैयौँलाई टाउको दुख्यो,” छिरिङ भन्छन्। तर लास देखेर तर्सने वा लोलाउने अवस्था नआएको उहाँले बताउनुभयो।
“लास झार्ने उद्देश्यले माथि जानु अघि नै बेस क्याम्पमा कस्तो कस्तो अवस्था आउनेछ भन्नेबारे विस्तृतमा तालिम दिएर मन र शरीर दुवै बलिया भएकाहरूलाई मात्र रोजिएको थियो।”
तौल बोक्न सक्ने क्षमता उचाइमा कति
८ हजार मिटरको उचाइमाथि मान्छेले भार बहन गर्न सक्ने क्षमता प्रति व्यक्ति १२ किलोदेखि बढीमा १५ किलो मात्र हुन्छ भन्ने गरिन्छ।
तौल सकेसम्म कम होस् भनेर हिउँले पुरिएका शवलाई हिउँ बन्चरोले खोतलेर बाहिर निकालेपछि शवमा जमेको हिउँ सबै झारिन्छ।
छिरिङ भन्नुहुन्छ “कति वर्ष अगाडि मरेको मान्छे( मर्दा जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा रहेको हुन्छ। उसका हात खुट्टा खुम्च्याउन सकिँदैन। जस्तो छ त्यस्तै थैलोमा हालेर स्केटमा चढाइन्छ।”
समथरमा जस्तो शवलाई पछाडिबाट धकेल्ने वा अगाडिबाट तान्न मिल्ने सुविधा हिमाली भीरमा हुँदैन।
डोरीको सहायतामा बिस्तारै बिस्तारै तल झार्न मिल्ने व्यवस्था मिलाउनुपर्यो।
नियन्त्रितरूपमा तल झार्दा कैयौँ पहाडी कापमा शव अल्झिएको र त्यसपछि बढो यत्नसाथ निकाल्न परेको अनुभव छ सफाइ अभियानका टोलीसँग।
“चेक आरोहीको शव ल्होत्सेबाट क्याम्प ३मा झार्न ‘नन स्टप’ २४ घण्टा लाग्यो,” छिरिङले बताउनुभयो।
मौसमी अनुकूलता भएका बेला मात्र तलमाथि गर्न पाइने अवस्थाका कारण र दिउँसो सगरमाथा आरोहणमा जानेलाई ‘डिस्टर्ब’ नहोस् भनेर शव झार्ने काम खासगरी रातमा गरिएको थियो।
हिमाल चढ्नभन्दा दशौँ गुणा महँगो शवको उद्धार
सरकारले ८ हजार मिटरभन्दा माथिका सगरमाथा, ल्होत्से र नुप्त्से जस्ता हिमाल चढ्नका लागि सबभन्दा उपयुक्त मानिने वसन्त यामको आरोहण अनुमति दिँदा विदेशी आरोहीसँग ११ हजार अमेरिकी डलर लिन्छ। अरू याममा त त्योभन्दा सस्तो हुन्छ।
तर एउटा शव व्यवस्थापन गर्न अनुमति दिँदा लिइने त्यस्तो रकमभन्दा दश गुणाभन्दा बढी खर्च लाग्छ।
अक्सिजन, खानेकुरा र अन्य बन्दोबस्तीका सामान, बिमा र ज्यान जोखिममा राखेर शव तल झार्ने जोखिमयुक्त काम गर्नेका लागि दिइने पारिश्रमिक सबै जोड्दा खर्च निस्किहाल्छ।
मेजर आदित्य कार्कीका अनुसार नेपाल सरकारले एउटा शव तल झार्न ५० लाख रुपैयाँ छुट्याएको थियो। तर व्यक्तिगत रूपमा झार्दा २ करोडभन्दा बढी रुपैयाँ लाग्ने गरेको विभिन्न तथ्याङ्क सार्वजनिक छन्।
हिसाब यस्तो छः एकजना आरोहीलाई ८ हजार मिटर माथि पुगेर तल झर्न सालाखाला चारवटा सिलिन्डर अक्सिजन चाहिन्छ। एक सिलिन्डर अक्सिजनको ४ चार सय डलरभन्दा बढी पर्छ।
एक शव तल झार्न आठ जना कामदार र उनका चार भरिया गरेर करिब १२ जना चाहियो। १२ जनाका लागि ४८ वटा सिलिन्डर आवश्यक पर्यो। २० हजार डलर त अक्सिजनका मात्र चाहियो। जति लामो समय लाग्यो त्यति अक्सिजन धेरै खपत हुँदा खर्च पनि बढ्ने गर्छ। अनि जति बढी उचाइ भयो त्यति नै पारिश्रमिक महँगो छ।
शव क्याम्प २ मा ल्याइसकेपछि हेलिकोप्टरमा आधार शिविर, त्यहाँबाट हेलिकोप्टरमा लुक्ला र लुक्लाबाट फेरि हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ।
यसै कारण आरोहण अनुमति शुल्कभन्दा १७र१८ गुणाभन्दा बढी शव व्यवस्थापन खर्च देखिन्छ।
कसरी गरिन्छ शवहरूको पहिचान
यस्तो लाग्छ, शेर्पा आरोही र गाइडहरू हिमाल चढ्ने बाटोमा लडिरहेका सबैजसो लासबारे जानकार छन्।
कति मिटर उचाइमा कसको शव कुन बेलादेखि छ भन्नेबारे एकापसमा कुरा गर्दा गर्दै धेरैलाई थाहा भइसकेको छ।
यस पटक तल झारिएका पाँचमध्ये तीन वटा शवहरूबारे पनि शेर्पाहरूले आफ्नो ज्ञानका आधारमा सरकारी टोलीलाई सम्भावित पहिचान खुलाइदिएका छन्। अब व्यवहारिक रूपमा प्रमाणित गर्ने जिम्मेवारी सरकारी काँधमा छ।
तिनको पोस्ट मोर्टम गरिन्छ, डीएनए परीक्षण गरिन्छ। र गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् सम्बन्धित दूतावासलाई खबर गर्छ।
यसरी वर्षौँदेखि पर्खाइमा रहेका परिवारले आफ्ना हराइरहेका आफन्तको शव फेला पार्छन् र अन्तिम संस्कार गर्छन्।
हिमालमा हराएका शेर्पाको परिवारका पीडा
पेम्बा तेन्जिङ सन् २०२३ मा आफ्ना क्लाएन्टलाई आमादाब्लाममा लैजान मौसम खुल्ने पर्खाइमा हुनुहुन्थ्यो।
सगरमाथा चढ्ने भर्याङ बनाउने काम सिक्दै गरेका आफ्ना भान्जालाई सिप सिकाएर फर्कँदै गर्दा आएको हिम पहिरोमा परेर पेम्बा बेपत्ता भएको उहाँका परिवारको भनाइ छ।
हराउने दिन बिहान नौ बजे पेम्बाले आफ्नी श्रीमती पासाङलाई फोन गरेर क्याम्प २ बाट बेसक्याम्प झर्न लागेको बताउनुभएको थियो। पासाङले पेम्बालाई बेसक्याम्प पुगेपछि खबर गर्नु भनेर फोन राख्नुभयो।
त्यसपछि न फोन आयो न कुनै जानकारी।
“अधैर्य भएर फेसबुक ‘स्क्रोल’ गर्दै जाँदा एउटा समाचार देखेँ हिम पहिरोमा परेर तीन बेपत्ता भए भन्ने। त्यसैमा परेछन् मेरा श्रीमान्,” त्यो दिन सम्झँदै पासाङ भन्नुहुन्छ।
दुई वर्ष पुग्दै गरेकी काखे छोरीले बाबु गुमाइन्, ३० वर्षे पासाङले आफूभन्दा एक वर्षले जेठा मायालु श्रीमान्।
खोजी र उद्धारका कुरा बुझ्दै जाँदा उहाँले थाहा पाउनुभयो, श्रीमान्को लास पाउन अब असम्भवप्रायः छ।
उहाँको परिवारले शव बिना नै मृतकको अन्तिम संस्कार गर्यो। ४९ दिनको काम र वार्षिकी भइसक्यो।
उहाँले बिमा बापत १५ लाख रुपैयाँ पाउनुभएको थियो ।
“परिवारका कान्छो छोराको काँधमा बाबुआमा पाल्ने जिम्मेवारी हुन्छ शेर्पा परिवारमा। मैले बिमामा पाएको पैसा उहाँकै वृद्ध आमाबुबाका लागि राखिदिएँ।”
पेम्बाका यस अघिका क्लाएन्ट ले ‘गो फन्ड’ बनाएर उठाइदिएको पैसाको भरमा अहिले आफ्नो बहिनी र बाबुको सहयोगमा अहिले तीन वर्ष पुगेकी छोरी हुर्काउँदै हुनुहुन्छ पासाङ।
आरोहणको तालिम लिएकी र ट्रेकिङ गाइड बन्ने लक्ष्य राखेकी पेम्बा विभिन्न ‘टाइमलाइन’ अनुसार दिवंगत श्रीमान्लाई सम्झिनुहुन्छ।
“अहिले बाँचिबसेको भए के टू चढ्न जान्थ्यो पेम्बा, अहिले आमादाब्लाम जान्थ्यो भन्ने लागिरहन्छ,” उहाँले भन्नुभयो ।
उहाँको अहिलेको मुख्य सुर्ता हो छोरीलाई अब राम्रो स्कूलमा कसरी पढाउने ।
“हामीजस्ता परिवारका मुख्य आर्जनकर्ता गुमाएकाहरूका छोराछोरीलाई प्राइभेट स्कूलमा पनि सके निःशुल्क नभए आधा शुल्कमा पढाइदिए हुन्थ्यो जस्तो लाग्छ।”
सगरमाथामा किन हुन्छ मृत्यु ?
आरोहण क्षेत्रका जानकारहरूका अनुसार हिमालमा खासगरी चार तरिकाले मानिसहरूको मृत्यु हुन्छ।
पहिलो, अक्सिजन सकिएर, दोस्रो, हृदयाघात भएर, तेस्रो, हिउँ पहिरोमा परेर। चौथो, मानिसहरू अक्सिजनको तह कम भएको त्यस्तो ठाउँमा पुग्दा दिमागमा अक्सिजन नपुगेर भ्रमित हुन पुग्छन् र दुर्घटनामा परेर मृत्यु हुन्छ।
जो अक्सिजन सकिएर मर्छन् या हृदयाघात भएर मर्छन् ती आरोहण मार्गमै वा छेउ छाउमा लडिरहेका हुन्छन्।
तिनको शव उद्धार गर्न पैसा भए सम्भव हुन्छ। तर जो हिम पहिरोमा पुरिन्छन् तिनलाई पहिरोले कहाँ पुर्याउँछ र कहिले उनीहरू सतहमा निस्केलान् टुङ्गो हुँदैन। सधैँका लागि हराउन सक्छन्। दिग्भ्रमित भएर बाटो बिराउनेको भवितव्य पनि त्यस्तै मानिन्छ।
पाँच शव कस्तो कस्तो अवस्थामा कहाँ थिए?
शव नं १
ल्होत्सेको शिखरभन्दा करिब पाँच मिटर तल ८,५१० मिटरको उचाइमा यो शव असाध्यै भिरालो जमिनमा लडिरहेको थियो।
आधा शरीर हिउँले पुरिएको थियो तर भिरालो जमिनमा भएकाले तानेर बाहिर निकाल्न र हिउँ सफा गर्न करिब चार घण्टा जति मात्र लाग्यो। त्यसलाई क्याम्प ३ सम्म ल्याइपुर्याउन २४ घण्टा लाग्यो।
शेर्पाहरू नसुतीकन, आराम नगरीकन निरन्तर काम गर्नुपर्दा थकित भए।
शवलाई क्याम्प ३ मै छोडेर उनीहरू क्याम्प २ आए, खाना खाए, आराम गरे र फेरि माथि गए।
“खानेकुरा पनि सीमित हुन्छ। पानी, चकलेट र सातुको भर हो। हिमालको उचाइ, खानपान र काम( असाध्यै थकित र कमजोर महसुस हुन्छ त्यसैले काम पनि धेरै गर्न सकिन्न।”
रातको २ बजे उनीहरूले शव क्याम्प २ को हेलिकोप्टर आउने ठाउँमा ल्याइपुर्याएका थिए। टर्च र हेडलाइटको सहारामा हिमस्थलमा काम गर्ने कुरा सोच्दा जति रोमाञ्चक लाग्छ त्यति जटिल पनि रहेको अनुमान लगाउन सकिन्छ।
दिउँसो उकालो लागेर शिखरमा पुग्ने आकाङ्क्षी मानिसहरूको भिड हुन्छ बाटोभरि।
उँभो र उँधो दुवै तर्फका लागि एउटै भर्याङ र डोरीको बाटो।
उँभो लाग्नेलाई सकेसम्म नरोक्ने भनेर रातिको समय रोजिएको छिरिङले बताए। तर दिउँसो पनि काम रोकिएन।
उनीहरू २४ घण्टा खटिए शव तल झार्न “कुल ३७ घण्टा लगाएर ल्होत्सेमा निकालिएको शवलाई क्याम्प २ पुर्याइयो।”
शव नं २
साउथ कोलमा ८,००० मिटरको उचाइमा ढुङ्गाको चेपमा लडिरहेको थियो एउटा मान्छेको शरीर।
१४ तारिखका दिन शेर्पाहरूको अर्को समूह सम्भवतः ३५ वर्षदेखि त्यही चेपमा लडिरहेको शव तल झार्ने काममा तल्लीन थिए।
घाम र हिउँमा एक्सपोज भएको अनुहार कङ्कालमा परिणत भइसकेको थियो।
छिरिङ भन्नुहुन्छ, “आँखा खोक्रा भइसकेका थिए। अनुहारको मासु झरेर खप्पर मात्र बाँकी थियो। लुगाभित्रको शरीर भने खोक्रो बनिसकेको थिएन।”
त्यसलाई ूसाउथ कोलबाट बिहान ८ बजे तल झार्न सुरु गरेको करिब १४ घण्टामा क्याम्प २ ल्याइपुर्याइयो।ू
यो शवको लुगामा कतै बेल्जियन एक्सिपिडिशन लेखिएको छ।
शव नं ३
बाल्कोनी भन्ने ८,५०० मिटरको उचाइमा रहेको यो शवको खुट्टा मात्रै बाहिर देखिएको थियो। अरू सबै हिउँभित्र पुरिएको थियो।
अनुहारको छाला हिउँ र घामले कालो भएको थियो। तर अक्सिजन सिलिन्डर, पानीको बोतल जस्तो बोकेको थियो त्यस्तै अवस्थामा थिए।
यो सन् २०१७ मा गाइड बिना चुचुरोतर्फ लागेका अमेरिकी अक्सिजन सकिएका कारण उतै ज्यान गुमाएको हुनसक्ने अनुमान गरिएको छ।
उनको हिउँमा लगाउने बुटको तल्लो भागमा उनको नाम लेखिएका आधारमा सन् २०१७ मा अमेरिका र विश्वभर समाचार बन्न पुगेका एलाबामाका एक अमेरिकी डाक्टरको शव हुनुपर्छ भन्ने उद्धार टोलीको अनुमान छ जसको सरकारी पुष्टि हुन बाँकी छ।
त्यहाँ हिउँ नरम अवस्थामा रहेकाले खन्न त्यति गाह्रो नभएको र करिब १४ घण्टा लगाएर क्याम्प २ पुर्याइएको थियो।
अनि तल झार्न बिहानको आठ बजे सुरु गरेको। त्यस दिन मौसम राम्रो थियो त्यसैले उँभो लाग्नेको लर्को थियो, एक प्रकारले ट्राफिक जाम भएको थियो। त्यसैबेला रोकिई रोकिई तल झार्नु परेको थियो।
शव नं ४
यो करिब ७,९०० मिटरमा छातीदेखि तल निलो बरफमा गाडिएको शव थियो।
शेर्पाहरूको टोलीले दिनभर हिउँ बन्चरोले खनेर बाहिर मात्र निकाल्न सम्भव भयो।
बिहान आठ बजे झार्न सुरु गरेको भोलिपल्ट बिहान तीन बजे क्याम्प २ मा झार्न सकियो।
यो शवको अनुमानित पहिचान शेर्पाहरूले गर्न सकेका छैनन्। “विदेशी हो किरु नेपाली जस्तो पनि देखिन्छ, तर विदेशी नै हुनुपर्छ किनभने यो मूर्ति जस्तै ठिङ्ग उभिएको लट्ठी टेकेको अवस्थामा फेला परेको शव हो।”
शव नं ५
खुम्बु आइसफलबाट अर्थात् ५,६०० उचाइबाट एक मानव अस्थिपञ्जरका टुक्राटाक्री सङ्कलन गरिएको छ।
अस्थिपञ्जर भेटिएका ठाउँमा शवको अलि फरक दृश्य थियो।
एउटा हात, खुट्टा, कपाल र कम्मरको भाग त्यहाँ देखिन्थे।
त्यसको वरिपरिको हिउँ रातो भएका कारणले त्यसलाई हिउँ चितुवा वा चिल वा जङ्गली कुकुरले खाएको हुनसक्ने अनुमान गरिएको छ।
त्यो अस्थिपञ्जर नजिकै रहेको बुट र हेल्मेटका कारण त्यो बेस क्याम्पभन्दा माथितिर आरोहण गरेको व्यक्ति हुनुपर्ने र ती वस्तु शेर्पाले प्रयोग गर्ने किसिमका भएकाले शेर्पाको अस्थिपञ्जर हुनसक्ने अनुमान पनि गरिएको छ।
शवहरू सबै क्याम्प २बाट हेलिकोप्टरमामार्फत् बेस क्याम्पमा झारिए। बेस क्याम्पमा रहेका डाक्टरले प्रारम्भिक परीक्षण गरिसकेपछि मुचुल्का उठाइयो र लुक्ला लगियो। लुक्लामा त्यहाँको गाउँपालिकाले जाँच गर्यो।
अन्तिम जाँचका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
तिनको अब पोस्ट मोर्टम, डीएनए जाँच र अन्य जाँच गर्ने बताइएको छ।
मेडिकल जाँचको आधारमा विदेशी नागरिक भए गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित मुलुकसँग समन्वय गर्न अनुरोध गर्छ। सम्बन्धित देश वा परिवारले चाहेमा त्यस्ता शव उनीहरूकै देशमा लैजाने प्रक्रिया सुरु हुन्छ।
‘सास भइजेन्ल आस, मरेपछि लास’को चाहना राख्ने नेपाली संस्कृति छ।
शेर्पा संस्कृति अनुसार मरेको समय र चिनाका आधारमा उनीहरूको अन्तिम संस्कार चार प्रकारले गरिन्छस् जलाउने, बगाउने, खरानी उडाउने र गाड्ने।
स्वदेशी हुन् वा विदेशी जसको लासको परिचय खुल्दैन, जसको खोजीमा तीन महिनासम्म कोही आउँदैन त्यसलाई नेपालको कानून अनुसार विभिन्न विधि पुर्याएर प्रहरीले शवको अन्तिम व्यवस्थापन गर्ने गर्छ।
यो वर्ष सफा हिमाल अभियानका लागि बन तथा वातावरण मन्त्रालयका तर्फबाट ८ करोड ३० लाख रुपैयाँ छुट्याइएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो।
हिमाल सफाइमा लाग्ने उच्च खर्चको उपादेयता र खर्चको पारदर्शितामाथि कतिपय आलोचकले प्रश्न उठाउँदै आएका छन्।
यस पटकको विशेष उद्धार टोलीका छिरिङ जाङ्बु शेर्पा, फुर्बा ग्यालजाङ शेर्पा, लाक्पा तेन्जी शेर्पा, लाक्पा शेर्पा, पनल्छेन तामाङ भेटिएका थिए नेपाली सेनाले आफ्नो काम पूरा गरेकोमा आयोजना गरिएको एक कार्यक्रममा।
उनीहरूले एकस्वरमा भने, “हिमालले हामीलाई यति धेरै अवसर दिएको छ, हिमाल सफाइ अभियानमा लाग्न पाउनु हिमालका लागि केही दिने मौकाका रूपमा पनि हामीले हेरेका छौँ। यो सम्झिँदा हामी हर्षित हुने गर्छौँ।”