Prakash Adhikari July 23, 2024

रेचल लुकर र हली होन्डरिच । बीबीसी न्यूज

लण्डन(संयुक्त राज्य अमेरिका ), ८ साउन । अमेरिकी राष्ट्रपतिको निर्वाचन आउन चार महिना भन्दा कम समय बाँकी रहँदा उपराष्ट्रपति कमला ह्यारिसलाई चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेको छ।

अमेरिकी राष्ट्रपति निर्वाचनअघि भएको टेलिभिजन बहसमा राष्ट्रपति जो बाइडनको फितलो प्रस्तुतिले उहाँ पुनः निर्वाचित हुनेमा आशङ्का र आलोचनाहरू जन्माएका थिए। त्यसबाट बेचैन बनेको बाइडनको डेमोक्र्याटिक पार्टीले उहाँको ठाउँमा सम्भावित उम्मेदवारको ठाउँमा कमला ह्यारिस हुनसक्ने आकलन गरिरहेको थियो।

बाइडनले राष्ट्रपतिमा दोहोरिने योजना आफूले त्याग्ने घोषणा गर्दै आफ्नो ठाउँमा कमला ह्यारिसलाई अघि सार्ने प्रस्ताव आइतवार राती गरेपछि लामो समयदेखिको ह्यारिसको डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने र राष्ट्रपति नै बन्ने सपना उहाँ नजिक आइपुगेको छ।

तर राष्ट्रपतीय निर्वाचनको यात्राबारे कैयौँ प्रश्नहरू अनुत्तरित छन्।

चार वर्षअघि नै राष्ट्रपतिका उम्मेदवारले एक पटक मात्रै चुनाव लड्ने घोषणा गरेको भए त्यसले ठूलो प्रशंसा पाउनेवाला थियो। सन् २०२४ को जुलाईसम्म आइपुग्दा ह्यारिस राष्ट्रपति उम्मेदवारको विकल्पका रूपमा अझ बलियो स्थानमा हुनुहुने थियो।

बाइडनको कमजोर प्रस्तुतिले राष्ट्रपतिको उम्मेदवार बन्ने ह्यारिसको मौका अझै बलियो बनाइदियो।

राष्ट्रपतीय निर्वाचनका लागि भएको टेलिभिजन बहसको २४ घण्टासम्म पनि ह्यारिसले बाइडनको बलियो गरी पक्ष लिनुभयो।

कसरी बन्यो राष्ट्रपतिको उम्मेदवार बन्ने पृष्ठभूमि

कमला ह्यारिसले अमेरिकी टेलिभिजनहरू सीएनएन, एमएसएनबीसी र चुनावी सभाहरूमा पनि पुगेर बोल्नुभयो। आफ्ना राष्ट्रपतिको प्रतिरक्षा गर्दै विपक्षी ट्रम्पप्रति आक्रामक रूपमा प्रस्तुत हुुनुभयो।

“हामी हाम्रा राष्ट्रपतिमाथि विश्वास गर्छौँ र उहाँ जे कुराको प्रतिनिधित्व गर्छन् त्यसमा पनि विश्वस्त छौँ,” चुनावी सभामा उहाँले भन्नुभयो।

डेमोक्र्याटिक पार्टीमा समर्थकहरूको जमातले ह्यारिसलाई चर्चाको केन्द्रमा ल्याउँदै गरेका थिए भने बाइडनलाई उहाँका आलोचकहरूले अवकाश लिनका लागि दबाव दिन थाले।

यद्यपि राष्ट्रपति पदका लागि दाबेदारी प्रस्तुत गर्ने ह्यारिस दोस्रो महिला हुनुहुन्छ र पहिलो अश्वेत र एशियन(अमेरिकन मूलकी उपराष्ट्रपति ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा प्रथम महिला, प्रथम अश्वेत र प्रथम एशियाली(अमेरिकी उपराष्ट्रपति बनेर कमला ह्यारिसले इतिहास बनाउनुभयो।

उपराष्ट्रपतिको कार्यकालमा कमजोर अप्रूभल रेटिङ अर्थात् स्वीकार्यता मूल्याङ्कनमा निकै तल रहे पनि उहाँका समर्थकहरूले उहाँले प्रजनन अधिकार, अश्वेत जातिहरूमा पार्न सक्ने प्रभाव र कानुनी पृष्ठभूमिका कारण उहाँ नै बलियो उम्मेदवार हुने दाबी गर्दै आएका छन्।

“मलाई विश्वास छ कि उहाँले मतदानको अधिकार र आप्रवासन सुधार जस्ता महत्त्वपूर्ण समस्याहरूको समाधानमा सहयोगी भूमिका निर्वाह गर्न सक्नुहुन्छ”, जोर्जटाउन विश्वविद्यालयकी महिला र लैङ्गिक अध्ययन कार्यक्रमकी निर्देशक नादीआ ब्राउन भन्नुहुन्छ, “उहाँ गर्भपन र काला समुदायका मानिसहरूको पहुँचजस्ता विषयमा बाइडनकी सबैभन्दा बलियो पैरवीकर्ता पनि हुनुहुन्छ।”

उपराष्ट्रपतिमा विजयी

आजभन्दा पाँच वर्षअघि कमला ह्यारिस क्यालिफोर्निआबाट सिनेटर हुनुहुन्थ्यो। उहाँले राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने आकाङ्क्षा राख्नुभएको थियो ।

यद्यपि उहाँ आन्तरिक प्रतिस्पर्धामा प्रारम्भिक चरणबाट बाहिरिनुभयो।

उहाँले आफ्नो करिअर अलामेडा काउन्टीको सरकारी वकिलको कार्यालयबाट सुरु गर्नुभएको थियो। उहाँ सन् २००३ मा सन फ्रान्सिस्कोको प्रमुख अभियोजनकर्ता बन्नुभयो।

त्यसपछि उहाँ अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको क्यालिफोर्निआको पहिलो अश्वेत र महिला महान्यायाधिवक्ता बन्नुभयो।

उहाँले डेमेक्र्याटिक पार्टीको उदाउँदो नक्षत्रको रूपमा अघि बढ्दै सन् २०१७ मा क्यालिफोर्निआको कनिष्ठ सिनेटर बन्नुभयो।

तर सन् २०२० मा उहाँको राष्ट्रपतीय महत्त्वाकाङ्क्षा पूरा भएन।

उहाँको राष्ट्रपतीय निर्वाचनको अभियान त्यस बेला एक वर्षभन्दा कममै अन्त्य भए पनि त्यसबेला पटक ५९ वर्षकी ह्यारिसलाई बाइडनले आफ्नो उपराष्ट्रपतिको टिकट दिएर राष्ट्रिय चर्चामा ल्याउनुभयो।

“सन् २०१३ मा ह्यारिसको सञ्चार निर्देशक रहेका गिल डुरानले “कमला ह्यारिसको भाग्य चम्किएको” भनेर टिप्पणी गर्नुभएको छ।

“धेरैले उहाँमा यति छिटो ह्वाइट हाउसको पदमा लागि उदय हुने अनुशासन र केन्द्रित भएर लाग्ने गुण छ भनेर सोचेका थिएनन्।।।उनीहरूलाई के मात्र थाहा थियो भने उनीसँग त्यो महत्त्वाकाङ्क्षा र लोकप्रिय सम्भावना छ। उनीसँग परिपक्व प्रतिभा भएको कुरा पनि लुकेको छैन,” डुरान भन्नुहुन्छ।

ह्यारिसले जो बाइडनको उपराष्ट्रपति रहँदा ह्वाइट हाउसमा कैयौँ महत्त्वपूर्ण र बाइडनको सफलतासँग जोडिएका अभियानहरूमा आफूलाई केन्द्रित गर्नुभयो।

उहाँले महिलाहरूले आफ्नो शरीरबारे निर्णय गर्न पाउनुपर्ने पैरवी गर्दै राष्ट्रव्यापी रूपमा “प्रजनन स्वतन्त्रता”को अभियान चलाउनुभयो।

उहाँले गर्भपतनमा लगाइएको प्रतिबन्धले पारेको असरबारे चर्चा चलाउँदै अमेरिकी संसद्‌लाई गर्भपतनसँग सम्बन्धित सन् १९७३ को ुरो भर्सस वेडु आदेश पुनर्स्थापित गर्न माग गर्नुभयो।

अमेरिकाको सर्वोच्च अदालतले उक्त आदेश सन् २०२२मा उल्ट्याइदिएपछि उहाँले महिलाको प्रजनन अधिकारको पक्षमा पैरवी गर्न अमेरिकाभरि गरेको यात्राले विशेष छवि बन्यो।

कमलाको अनेक परिचय

ह्यारिसको जन्म ओक्लन्ड, क्यालिफोर्नियामा भएको थियो। उहाँकी आमा भारतीय र बुवा जमैकाका हुनुहुन्थ्यो।

उहाँ पाँच वर्षको हुँदा उहाँका आमाबुवाको सम्बन्धविच्छेद भएको थियो र उहाँलाई प्रायः उहाँकी हिन्दू आमा श्यामला गोपालन ह्यारिसले हुर्काएउनुभयो। उहाँ क्यान्सर अनुसन्धानकर्ता र नागरिक अधिकार अभियानकर्ता हुनुहुन्थ्यो।

ह्यारिसले आफ्नी आमाले आफू र बहिनी मायालाई ओक्लन्डको अश्वेत समुदायसँगै हुर्काएको जनाउनुभएको छ।

“मेरी आमालाई आफूले दुई अश्वेत छोरी हुर्काउँदै गरेको राम्ररी थाहा थियो,” कमलाले आफ्नो जीवनी ुद ट्रूथ्स वी होल्डु मा लेख्नुभएको छ।

“उहाँलाई आफूले स्वीकार गरेको नयाँ देशले माया र मलाई अश्वेत बालिका मान्छ भन्ने थाहा थियो। उहाँ हामी आत्मविश्वासपूर्ण र गौरवान्वित अश्वेत महिलाका रूपमा हुर्किएको सुनिश्चित गर्न कटिबद्ध हुनुहुन्थ्यो।”

ह्यारिसले हावर्ड यूनिभर्सिटीमा अध्ययन गर्नुभयो। उक्त विश्वविद्यालय अमेरिकाको उत्कृष्ट अश्वेत शैक्षिक संस्थामध्ये पर्छ। त्यहाँ उहाँ दक्षिण अफ्रिकाको रङ्गभेदविरुद्धको सङ्घर्ष र अमेरिकामा जातीय सम्बन्धजस्ता राजनीतिक मुद्दाहरूमा संलग्न हुनुभयो।

लिटा रोजारियो रिचर्डसनको कमला ह्यारिससँग सन् १९८०को दशकमा हावर्ड विश्वविद्यालयमा भेट भयो। उहाँहरू कलेजको चौरमा राजनीतिबारे लामा छलफल गरेर बस्नुहुन्थ्यो ।

“उहाँसँग तर्क गर्ने राम्रो क्षमता थियो,” रिचर्डसनले भन्नुभयो।

सन् २०१४ मा ह्यारिसले एकजना वकिल डग एमअफसँग विवाह गर्नुभयो। उहाँका पतिका त्यसअघि नै रहेका दुई जना बच्चाको उहाँ सौतेनी आमा बन्नुभयो।

ह्यारिसले सन् २०१९ मा सौतेनी आमा बन्दाको अनुभवबारे एउटा पत्रिकामा लेख लेख्नुभएको थियो । आफूलाई सौतेनी आमा भन्ने शब्द मन नपरेको र त्यस बेला ‘ममला’ भन्ने निधो आफ्नो परिवारमा गरेको उहाँले उल्लेख गर्नुभएको छ।

Share Now