काठमाडौं, २२ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (साउन २२ गते) र भोलि (साउन २३ गते) विभिन्न स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ।
आजबाट मनसुन न्यून चापीय रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको र सो प्रभावले भोलिसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
विभागले भोलिसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको विभागले जनाएको छ।
तसर्थ, सो दिनहरुमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई विभागले अनुरोध गरेको छ।
विभागले ३४ जिल्लाहरुलाई रेड जोनमा राखेको छ भने काठमाडौँ, ललितपुर र भक्तपुरसहित ३६ जिल्लाहरुलाई मध्यम जोखिममा राखेको छ।