Prakash Adhikari August 6, 2024

ढाका(बाङ्ग्लादेश), साउन (बीबीसी) । बाङ्ग्लादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरेर यसको जानकारी दिएको छ।

पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको थियो। गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्‌बाट हसिना पुनः प्रधानमन्त्री बन्नुभएको थियो।

आन्दोलनकारी विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार अमान्य हुने भन्दै तत्काल संसद् विघटन गर्न माग गर्दै आएका थिए।

विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्।

सोमवार साँझ राष्ट्रपति शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गर्नुभएको थियो।

राष्ट्रपतिले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिनुभएको थियो। उहाँ मङ्गलवार अपराह्ण जेलमुक्त हुनुभएको छ।

बाङ्ग्लादेशको अन्तरिम सरकारका लागि हुने वार्तामा सेना, विद्यार्थी आन्दोलनका संयोजक र नागरिक समाज समूहसहितका मुख्य पक्षहरू छन्।

हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी)ले अहिलेसम्म प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छैन।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ।

बीएनपीका अनुसार बेगम खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गर्नुभएको छ।

विद्यार्थी नेताहरूको माग के हो ?

विद्यार्थी आन्दोलनका तीन नेता आसिफ मोहम्मद, नाहिद इस्लाम र अबु बकर मजुम्मदार

सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचन हुने बताएका भए पनि त्यसबारे धेरै कुरा खुल्न बाँकी छ।

विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गरेका छन् र तत्काल संसद् विघटन गर्न माग गरेका थिए।

विद्यार्थी आन्दोलनका तीन नेता आसिफ मोहम्मद, नाहिद इस्लाम र अबु बकर मजुम्मदार

तस्बिरको क्याप्शन,विद्यार्थी आन्दोलनका तीन नेता आसिफ मोहम्मद, नाहिद इस्लाम र अबु बकर मजुम्मदारले भिडिओबाट आफ्नो धारणा र माग सार्वजनिक गर्नुभएको छ।

बाङ्ग्लादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन्।

“हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन”, विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भन्नुभएको छ।

उहाँले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै भन्नुभयो, “हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार गर्दैनौँ।”

समाचारसंस्था रोएटर्सले पनि युनुसका प्रवक्तालाई उद्धृत गर्दै यस जिम्मेवारीका लागि युनुस सहमत रहेको उल्लेख गरेको छ। उसका अनुसार अहिले स्वास्थ्योपचारका लागि फ्रान्सको प्यारिसमा रहनुभएका युनुस ूसामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर तत्कालैू स्वदेश फर्किने तयारीमा हुनुहुन्छ।

विद्यार्थी नेताहरूले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्मको समयसीमा तोक्दै संसद् भङ्ग गर्न राष्ट्रपतिलाई आह्वान गर्नुभएको थियो।

उहाँहरूले आफ्ना मागहरू पूरा नभए ूकडा कदमू चाल्ने चेतावनी दिनुभएको थियो ।

“हामी देशका विभिन्न स्थानमा भइरहेका आगजनी र साम्प्रदायिक हिंसाका घटनाहरूको भर्त्सना गर्छौँ… यो आन्दोलन आफ्नो अधीनमा पार्न सक्ने मानिसहरूलाई रोक्न हामी तयार हुनुपर्छ”, भिडिओमा भनिएको छ ।

विद्यार्थी नेताहरूले आफूद्वारा प्रस्तावित अन्तरिम सरकारमा समाविष्ट हुने व्यक्तिहरूको नाम चाँडै सार्वजनिक गरिने बताउनुभएको छ।

को हुन् मोहम्मद युनुस ?

ग्रामीण ब्याङ्क स्थापना र लघुवित्त अवधारणाको थालनी गरेकाले युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो। उहाँ ८४ वर्षको हुनुहुन्छ।

मोहम्मद युनुस

उहाँको अवधारणाले दशौँ लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ।

हसिनाले बारम्बार युनुस गरिबहरूलाई चुस्ने परजीवी भएको र उहाँले गरिबहरूलाई ऋण दिएर धेरै ब्याज लिने गरेको आरोप लगाउनुभएको थियो।

गत जुन महिनामा बाङ्ग्लादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर गरेको थियो।

युनुसले आफूविरुद्ध लागेको आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ।

राजनीतिक दुराशयका कारण युनुसलाई मुद्दा हालिएको उहाँका समर्थकहरूको दाबी छ।

हसिना तेस्रो देश जान सक्ने अनुमान

शेख हसिना

सरकारी सेवामा आरक्षण अन्त्य गर्नुपर्ने मागसहित सुरु भएको विरोधप्रदर्शनले आन्दोलनको रूप लियो र हसिनाको राजीनामा त्यसको मुख्य माग बन्न पुग्यो।

पन्ध्र वर्ष निरन्तर सत्तामा रहनुभएकी हसिना गत महिनादेखि सुरु भएको हिंसक आन्दोलन उत्कर्षमा पुगेपछि राजीनामा दिँदै भारत पुग्नुभएको छ । हसिना भारतबाट तेस्रो मुलुक, सम्भवतः यूके, जान सक्ने अनुमान गरिएको छ। उहाँले यूकेमा राजनीतिक शरण माग्ने विवरण विभिन्न सञ्चारमाध्यमले प्रकशित गरेका छन्। तर त्यसको पुष्टि हुन सकेको छैन।

उहाँसँगै ढाका छोडनुभएकी उहाँकी बहिनी शेख रेहाना ब्रिटिश नागरिक हुनुहुन्छ। शेख रेहानाकी छोरी ट्यूलिप सिद्दिक अहिले ब्रिटेनको संसद्‌मा सदस्य हुनुहुन्छ।

भारतले बाङ्ग्लादेशमा विकसित घटनाक्रमबारे केही प्रतिक्रिया दिएको छैन। त्यहाँ आन्दोलन चर्किएको बेला पनि दिल्लीले त्यो बाङ्ग्लादेशको आन्तरिक विषय भएको जनाउँदै आएको थियो।

शैक्षिक संस्थाहरू खुले तर कक्षाकोठा खाली

बाङ्ग्लादेशी सेनाले मङ्गलवारदेखि सबै शैक्षिक संस्थाहरू खुल्ने घोषणा सोमवार राति गरेको थियो। तर कक्षा कहिलेदेखि सञ्चालन हुन्छ स्पष्ट भइसकेको छैन।

“अधिकारीहरूले हिजो नै सबै हल खोले तर पढाइ भने भएको छैन,” ढाका विश्वविद्यालयका अफ्सर मुन्नाले बीबीसी बाङ्ग्लालाई भन्नुभयो।

जगन्नाथ विश्वविद्यालयका अर्का विद्यार्थीका अनुसार क्याम्पस खुलेको छ तर त्यहाँ अध्ययन अध्यापन भने सुरु भएको छैन। “आज विद्यार्थीहरू आफैँ हल खोलेर प्रवेश गर्छन् भन्ने मैले सुनेको छ,” आरक्षणविरोधी आन्दोलनमा निकै सक्रिय देखिएको राजश्री विश्वविद्यालयका एक विद्यार्थीले बताउनुभयो।

जहाङ्गिरनगर विश्वविद्यालयका तनवीर हसीबका अनुसार धेरै विद्यार्थी “घर फर्किएको हुनाले” उनीहरू ढाका फर्किन केही समय लाग्छ।

सोमवार सर्वाधिक हिंसा

सोमवार प्रदर्शनकारीहरूको अनियन्त्रित भिडले सरकारी कार्यालय, प्रहरी चौकी र अन्य स्थानमा आक्रमण गर्नुका साथै आगजनी समेत गरेको थियो।

सोमवार भएको हिंसामा मृतकको सङ्ख्या १०० नाघेको बताइएको छ। तर प्रहरीले त्यसबारे केही बोलिसकेको छैन।

आइतवारका घटनाहरू कम्तीमा ९४ जनाको मृत्यु भएको थियो। गत जुलाईमा आन्दोलन सुरु भएदेखि ज्यान जाने मानिसको सङ्ख्या ४ सय नाघेको छ।

दक्षिणपश्चिम बाङ्ग्लादेशस्थित जशोर सहरमा हसिनाको पार्टी अबामी लीगका एक नेताको स्वामित्वमा रहेको एउटा होटलमा सोमवार प्रदर्शनकारीहरूले आगो लगाइदिएका थिए। त्यसमा परेर कम्तीमा २४ जनाको मृत्यु भएको विवरण सञ्चारमाध्यमहरूले मङ्गलवार सार्वजनिक गरेका छन्।

बाङ्ग्लादेशी डेली स्टारका अनुसार जबीर इन्टरन्याश्नल होटलमा लगाइएको आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। प्रदर्शनकारीहरूले अग्निनियन्त्रकहरूलाई अवरोध गरेकाले आगो निभाउन बढी समय लागेको बताइएको छ।

 

Share Now