काठमाडौं, २८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई इन्धन डिपो स्थानान्तरणका लागि नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराएको अधिकारीहरूले बताएका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको हवाई इन्धन डिपोलाई अर्को ‘सुरक्षित’ ठाउँमा सार्न खोजिएको र त्यसका लागि भारतीय आयल निगमको सहयोग खोजिएको अधिकारीहरूले बताएका छन्।
आगामी नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम थाल्न लागिएको बताएका अधिकारीहरूले हवाई इन्धन डिपो स्थानान्तरणका विषयमा पनि छलफलहरू अघि बढेको उल्लेख गरेका हुन्।
डिपो निर्माण गरिने नयाँ ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुह्येश्वरीतर्फको भागमा नागरिक उड्डयन प्राधिकरणले नेपाल आयल निगमलाई उपलब्ध गराएको छ।
उक्त निर्माणका लागि लाग्ने स्रोतको जोहो भइसकेको छैन तर अधिकारीहरूले झन्डै ६ अर्ब रुपियाँसम्म त्यो काममा लाग्नसक्ने बताएका छन्।
डिपो स्थानान्तरण प्रक्रिया
गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै सौर्य एअरको विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सिनामगङ्गलमा रहेको उक्त डिपोका कारण उत्पन्न हुनसक्ने जोखिमबारे चासो प्रकट गर्नुभएको थियो।
त्यसपछि मन्त्रिपरिषद्ले गठन गरेको एउटा कार्यदलले बनाएको प्रतिवेदन सरकारले अनुमोदन गर्यो जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १ वर्षभित्र इन्धन भण्डारण डिपोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि ‘सुरक्षित र सुविधायुक्त स्थानमा’ स्थानान्तरण गर्न निर्देशन दिइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका प्रमुख रहेका सचिव शिवराम पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जारी स्तरोन्नतिकै एउटा अंशका रूपमा इन्धन डिपोको स्थानान्तरण पनि परेको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले डिपो भएको ठाउँको ३२ रोपनी जग्गा आयल निगमको आफ्नै हो। थप पाँच रोपनी जग्गा नागरिक उड्डयन प्राधिकरणसँग भाडामा लिएको रहेछ। जति जग्गा चाहिन्छ त्यो उपलब्ध गराउने भनेर क्यानले एउटा खाकासहितको प्रस्ताव पठाएको छ। त्यहाँ नै बनाउने भनेर निर्णय गरिसकिएको छैन तर अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको प्रश्न आइसकेपछि त्यसलाई ध्यान दिनुपर्छ। एउटा निर्णय लिनुपर्छ।”
अधिकारीहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अब गर्ने भनिएको ट्याक्सी वे विस्तारका क्रममा पनि अन्तर्राष्ट्रिय मापदण्डहरू कायम राख्नलाई डिपोको स्थानान्तरण गर्नैपर्छ।
नागरिक उड्डयन प्राधिकरणका सह व्यवस्थापक ज्ञानेन्द्र भूलले भन्नुभयो, “यो तहको विमानस्थलमा रनवेबाट ट्याक्सीवेको दूरी १ सय ९० मिटर हुनुपर्छ। अहिले हाम्रो १ सय १० मिटर मात्रै छ। ट्याक्सीवेबाट बाहिरको रनवे स्ट्रीप ९० मिटर बाहिर हुनुपर्छ अहिले हाम्रो ४० मिटर मात्रै छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको रनवे र ट्याक्सीवे अनि त्यहाँ बाहिर वरपरको सुरक्षित क्षेत्र सम्बन्धी मापदण्ड अहिले हामीले पालना गरेका छैनौँ।”
उहाँले अब गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका क्रममा ट्याक्सीवे र रनवे विस्तार गरिने भन्दै आयल निगमको डिपो सार्नुपर्ने बताउनुभयो।
उहाँ भन्नुहुन्छ, “दूरी सम्बन्धी मापदण्ड पूरा नगरेकाले हामी रनवे र ट्याक्सीवेमा भएका कतिपय जहाजलाई सँगै पठाउँदैनौँ। अहिले कैयौँ बन्देजहरू छन्। त्यही भएर त्यो डिपोलाई सार्नुपर्छ। त्यसलाई सार्नका लागि अहिले हामीले गुह्येश्वरीभन्दा माथि सेनाको ब्यारेक नजिक झन्डै ४० रोपनी जग्गा छुटाइदिएका छौँ। क्यानले जग्गा उपलब्ध गराउने हो बाँकी काम चाहिँ उद्योग वाणिज्य मन्त्रालयले गर्ने हो।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेलले ठूलो पूर्वाधार बनाउनुपर्ने भएकाले स्रोत र विज्ञताका लागि भारतको इण्डियन आयल कर्पोरेशन (आइओसी)सँग छलफल भइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो त्यो तहको विज्ञता पनि छैन। आइओसीलाई अनुरोध गर्यो भने बनाइदिन्छ कि भन्ने हो। त्यहाँ सार्नुपर्ने भनेर स्वीकार गरिएको छ तर लगानीको ढाँचाको बारेमा अझै निर्णय भइसकेको छैन।”
नेपाल आयल निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको क्षमता ६७ लाख लिटर भन्दा बढी छ। त्यहाँ ६ वटा ठाडो इन्धन ट्याङ्की र ८ वटा भूमिगत इन्धन भण्डारण ट्याङ्की रहेको बताइन्छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नागरिक उड्डयन प्राधिकरणले छुट्याइदिएको स्थानमा कस्तो खालको इन्धन डिपो निर्माण गर्ने भन्नेबारे विज्ञहरूलाई ल्याएर देखाउने काम भइरहेको छ।
उहाँले भन्नुभयो, “त्यो ठाउँमा सम्भव हुन्छ कि हुँदैन। ठाडो खालको वा अन्डरग्राउण्ड कस्तो भण्डार गृह बनाउने हामी छलफल गरिरहेका छौँ। अलिकति ओरालो खालको ठाउँ पनि छ, पुर्नुपर्ने हो कि भनेर विज्ञहरूलाई देखाएर छलफल गरिरहेका छौँ।”
उहाँले विज्ञहरूले प्रतिवेदन दिएपछि कसरी अघि बढ्ने भनेर आफूहरू एउटा टुङ्गोमा पुग्ने जानकारी दिनुभयो।
“अहिले डिपो भएको स्थान ट्याक्सीवेमा नै पर्ने भएकाले त्यसलाई सार्नुपर्ने भएको हो। संसारभर नै इन्धन डिपोहरू विमानस्थलको छेउछाउ नै हुन्छन्। सबैभन्दा सुरक्षित ठाउँ नै हेरेर उहाँहरूले अहिलेको जमिन दिनुभएको होला।”
अध्ययन गरिरहेको टोलीमा आइओसीका विज्ञहरू पनि रहेको जनाउँदै भट्टले नागरिक उड्डयन प्राधिकरणले आफूहरूलाई २० हजार किलोलिटर क्षमताको डिपो बनाइदिन भनेको बताउनुभयो।
तर त्यसको निर्माण अवधि, लागत लगायत सबै कुरा प्राविधिक अध्ययन सम्पन्न भए पछि मात्रै भन्न सकिने उहाँको भनाइ छ।
अधिकारीहरूका अनुसार नेपाल आयल निगमसँग पेट्रोल ७ दिन, डिजेल १२ दिन, मट्टितेल २६ दिन र हवाई इन्धन ६ दिनको माग धान्ने गरी ८९ हजार ९ सय ९० किलोलिटर भण्डारण गर्ने क्षमता रहेको छ।
देशका विभिन्न शहरी क्षेत्रमा बाक्लो बस्ती विस्तार भएको र त्यहाँ रहेका डिपोहरू पनि स्थानान्तरण गर्नुपर्ने माग आयल निगमले खेपिरहेको छ।
(बीबीसी नेपाली सेवाबाट)


















