काठमाडौँ, ५ माघः तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालले १८ वर्षअघि भएको मधेस–आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै बलिदानी दिवस मनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम गुप्ता तथा महासचिवद्वय डा सुरेन्द्र झा र मनिष मिश्रलगायतका नेताहरुले मधेस आन्दोलनका सहिदको तस्बिरमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
विसं २०६४ माघ ५ गते लहानमा भएको घटनामा रमेश महतोको निधन भएको र त्यसपछिका आन्दोलनमा ठूलो जनधनको क्षति भयो । त्यसक्रममा सरकार र तत्कालीन मधेसी जनअधिकार फोरमबीचको सहमतिपछि मुलुक सङ्घीयतातर्फ अघि बढेको उक्त पार्टीको दाबी छ ।
सभामा उपाध्यक्ष गुप्ताले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधताले परिपूर्ण नेपाललाई सबै जातजातिको साझा फूलबारीका रुपमा अघि बढाउन राज्यले सबैलाई समान अधिकार र अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मधेसका आवाजलाई राज्यले अझै पूर्णरुपमा सम्बोधन नगरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सहिदहरुले जुन सपना बोकेर आन्दोलनमा होमिएका थिए, त्यसलाई साकार तुल्याउन संविधान संशोधनमार्फत अधिकारका विषयमा उठेका विषयबस्तु सम्बोधन गरिनुपर्छ ।”
महासचिव डा झाले अहिले मुलुकमा संविधान संशोधन बहस चलिरहेको सन्दर्भमा संविधान संशोधन पहिचान र सामाथ्र्यका आधारमा राज्यको पुनःसंरचना र अग्रगमनका लागि हुनुपर्ने आफ्नो दलको मान्यता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान संशोधन राज्यका सम्पूर्ण निकायमा समानुपातिक र समावेशी सिद्धान्त लागू गर्नका लागि हुनुपर्छ । बहुलबाद र बहुदलीय शासन व्यवस्था संविधानको मर्म हो । त्यसको मर्म र भावनाविपरीत संशोधन हुन सक्दैन । हालको निर्वाचन प्रणालीमा केही दोष छैन ।”
अर्का महासचिव मिश्रले राजस्व र विप्रेषणको मुख्य स्रोत रहेको तराई मधेसबाट संसद्मा जनसङ्ख्या र सामथ्र्यका आधारमा प्रतिनिधित्व कायम गर्दै नेपाललाई समावेशी राष्ट्र तुल्याउन संविधान सशोधन आवश्यक रहेको बताउनुभयो ।
उहाँले विभिन्न जातजाती, भाषा, समुदायको साझा पहिचान बोकेको नेपाललाई बलियो बनाउन समान हकअधिकारका प्रदान गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक संस्था लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्रले मुलुकमा वर्तमान संविधान जारी भई सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयनले राज्यका निकायमा विभिन्न जातजाति र समुदायका प्रवेशले आम युवा विद्यार्थीलाई उत्साहित तुल्याएको धारणा राख्नुभयो ।
पहिचान, सङ्घीयता र लोकतान्त्रिक समाजवादलाई आत्मसात गर्दै आएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरसहित प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एक जना सदस्यको प्रतिनिधित्व छ ।