Prakash Adhikari November 23, 2025

महोत्तरी, ७ मङ्सिरः मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो । यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छभने ‘मटकोर’ एक दिन पहिले सोमबार सम्पन्न गरिनेछ । सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

“मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौँ”, डा वैष्णव भन्नुहुन्छ, “यसमा मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।” मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ । माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ ।

भूमि पूजनको भाव भने पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । यसरी खनेर ल्याइएको माटोले विवाह मण्डप, वेदी, चुल्हो बनाउनसँगै देवदेवीस्थल लिपपोत गरिन्छ । मिथिलामा यी सबै विधिमा माङ्गलिक गीत गाइन्छन् । त्रेतायुगमा श्रीराम र सीताजीको विवाहमा हालको मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउबाट यज्ञवेदी बनाइन माटो खनिएको विश्वास गरिन्छ ।

मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ । यहाँ भोलिपल्टको जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त मटिहानी बस्ने पुरानो चलन छ ।

श्रीराम र सीताका बीच विवाह भएको सम्झनामा मनाइने यो महोत्सवमा पहिलो दिन ‘नगर दर्शन’ उत्सवको परम्परा छ । यो उत्सव श्रीराम, गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आइपुग्नुभएको सम्झनामा मनाइने गरिएको हो । यस दिन श्रीराम र लक्ष्मणले राजा जनकको दरबार परिसर र जनकपुर नगर अवलोकन गर्नुभएको सम्झनामा प्रतीकात्मक रूपमा मनाइन्छ । यस क्रममा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्रको भूमिकामा सजिएका पात्रहरूलाई राजा जनकका भारदारहरूले नगरको अवलोकन गराउँछन् ।

महोत्सव सुरु भएसँगै सम्पूर्ण मिथिलाक्षेत्र उत्सवमय बन्दछ । खासगरी अयोध्या र भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको नेपाल प्रवेशद्वार महोत्तरीको जलेश्वरको भिठ्ठामोर र मटिहानी हुने हुँदा यहाँ यसको तयारी विशेष रूपमा गरिन्छ । भारततिरबाट महोत्सवका लागि साधुसन्त आउने क्रम मङ्सिर शुक्लपक्षको प्रारम्भसँगै सुरु भए पनि अधिकांश विवाहपञ्चमीको एक दिनअघि आउने चलन छ ।

भारतबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट अर्थात् विवाहपञ्चमीका दिन जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गर्दै महोत्तरीकै पिपरामा दिवा भोजन र केहीबेरको विश्राम गरेर जनकपुर रङ्गभूमिमा आयोजना हुने स्वयम्वर र रामजानकी विवाहमण्डपमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने गर्छन् ।

रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन जनकपुरमा नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटाँै दिन स्वयम्वर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ ।

यी उत्सवको पहिलो दिन नगर दर्शनमा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्र जनकपुर आइपुग्नु भएर उहाँहरूलाई नगर अवलोकन गराइएको, दोस्रो दिन फूलबारी लीलामा सीताजी फूल टिप्न सखीहरूका साथ फूलबारी पुग्दा श्रीरामसँग आमनेसामने देखादेख भएको, तेस्रो दिन धनुष यज्ञमा श्रीरामले शिवजीको धनुष भङ्ग गर्नुभएको, चौथो दिन श्रीरामले धनुष भाँचेपछि सीतासँग विवाहको टुङ्गो गरेर अठोट लागेपछि कन्यापक्षले वरपूजन गर्ने परम्पराको तीलकोत्सव प्रतीकात्मक रूपमा मनाइन्छ । त्यसैगरी, पाँचौँ दिनको स्वयम्वर तथा विवाहमा रङ्गभूमि मैदानमा स्वयम्वर र विवाह मण्डपमा विवाह विधि र सातौँ दिन अयोध्याका जन्ती बिदाइको ‘रामकलेवा’ विधि प्रतीकात्मक रूपमा सम्पन्न गरिन्छन् ।

रामजानकी विवाह महोत्सवको मेला हेर्न सम्पूर्ण मिथिलाक्षेत्रमै केही दिन पहिलेदेखि तयारी गरिन्छ । यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण कर्ण बताउनुहुन्छ ।

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न
विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भगवान् रामको स्वरुपमा रहेका किशोरले धनुष तोडेका हुन् ।
त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ । यस वर्ष पनि महोत्सवका कार्यक्रम सञ्चालनमा रहेका छन् भने त्यही क्रममा आज धनुष यज्ञ मनाइएको हो । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नुपर्ने प्रण लिएका थिए ।
त्यसका लागि आयोजित सभामा सहभागी अरु कसैले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले त्यो काम गर्न खोजेपछि धनुष तीन टुक्रा भएको इतिहास छ । त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ । अब आइतबार राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ ।
तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका बुबा र राम मन्दिरका महन्थराम गिरी रामका बुबाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन् ।
विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ । विवाहपञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधुसन्तसहित लाखौँ श्रद्धालु जनकपुरधाम आउने गरेका छन् ।
सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते बुधबार अन्तिम दिन रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ ।
Share Now