लण्डन(संयुक्तअधिराज्य), २९ भदौ (बीबीसी) । फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुगेको छ।
आँधी सँगै हावाहुरी र ठूलो वर्षा भएको छ। उक्त आँधीले विनाशकारी बाढी निम्याउने पनि जोखिम रहेको छ।
उक्त शक्तिशाली आँधी नर्थ क्यारोलाइनास्थित राइट्सभिल समुद्र तटमा आइपुग्दा त्यसको वेग १५० किलोमिटर प्रति घण्टाको रहेको थियो।
सचेत
फ्लोरेन्स आँधीका कारण तटीय क्षेत्रहरुमा डुबान सुरु भइसकेको छ। न्यू बर्न सहरमा धेरै मानिसहरु उद्धारको प्रतीक्षामा रहेका छन्।
दश लाख मानिसलाई आँधीले प्रभाव पार्न सक्ने स्थानबाट हट्न सचेत गराइसकिएको छ।

नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले आँधीले उनीहरूको सहनशीलता, मिलेर काम गर्ने क्षमता, बुद्धिमत्ता र धैर्यको परीक्षण गर्ने बताएका छन्।
मौसम पूर्वानुमान निकायका ब्रान्डन लक्लियरका अनुसार नर्थ क्यारोलाइनाले दुई तीन दिनमा आठ महिनामा पर्ने परिमाणको वर्षाको सामना गर्नेछ।
बिहीवारबाटै ठाउँठाउँमा अवस्थाहरू बिग्रिएको थियो। नर्थ क्यारोलाइनाका केही क्षेत्रहरुमा केही घण्टामै एक फिटसम्म वर्षा भएको थियो।
तर तस्बिरहरूमा देखिएअनुसार तटनिर समुद्रको सतह बढेको छ।
न्याश्नल हरिकेन सेन्टरका अनुसार ११ बजेको स्थानीय समयअनुसार हावाको वेग केही कम भएकाले त्यसलाई ‘क्याटगोरी एक’मा राखिएको छ।
उसले हावाको वेग कम भएपनि ठूलो वर्षाका कारण अवस्था अझै खतरनाक रहेको जनाएको छ।
विपद् व्यवस्थापन निकायका प्रमुखले बाढीले थुप्रै मानिसको ज्यान लिन सक्ने बताएका छन्। उनले नदीकिनार वा अलि होचो भूभागमा बस्नेहरू बाढीको धेरै जोखिममा रहेको बताए।
दश लाखभन्दा बढी मानिसलाई क्यारोलाइना र भर्जिनियाको समुद्री तटको इलाकाबाट हट्न आदेश दिइसकिएको छ। बाह्र हजारभन्दा बढी मानिसले आपत्कालीन आश्रयस्थलहरूमा शरण लिइरहेका छन्।

तर सबै जनाले सचेत हुने सूचनालाई मानेका छैनन्। नर्थ क्यारोलाइनाका एक पुरुषले आश्रय स्थलले उनको कुकुरलाई नराख्ने भन्दै आफू उसैसँग बस्ने एएफपी समाचार संस्थालाई बताएका छन्।
तीन लाख ७० हजारभन्दा बढी मानिसहरु विनाबिजुली बसिरहेका छन्। तर ऊर्जा कम्पनीहरुले ३० लाख घर र व्यवसायहरू बिजुलीबाट वञ्चित हुनसक्ने जनाएका छन्।
फिलिपिन्समा पनि
यसैबीच अमेरिकाभन्दा हजारौँ माइल पर एउटा शक्तिशाली तुफान फिलिपिन्सतर्फ अघि बढिरहेको छ।
अधिकारीहरुका अनुसार ५० लाखभन्दा बढी मानिसहरू शक्तिशाली टाइफुन म्याङ्कुटको मार्गमा रहेका छन्।
सो आँधी २५५ किलोमिटर प्रतिघण्टाको गतिले अघि बढिरहेको बताइएको छ।

विपद्को तयारीका लागि अन्तिम चरणको तयारी गरिँदै गरेको अधिकारीहरूले बताएका छन्।
सो आँधीले शनिवारसम्म लुजोज द्वीपको उत्तरी भागमा प्रहार गर्ने अनुमान गरिएको छ।
म्याङ्कुटले गराउने विध्वंशलाई विचार गरेर हवाई उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरू पनि बन्द भएका छन्।
विपद् व्यवस्थापनका लागि सेना तयार भएर बसेको छ।
अधिकारीहरूका अनुसार ९०० किलोमिटर व्यास भएको सो आँधीको गति घट्यो भने पनि त्यो विनाशकारी हुन सक्छ।
सो आँधीले नर्दन म्यारियाना आइल्यान्ड्स र ग्वाममा प्रहार गरिसकेको छ।
अधिकारीहरूले आँधीका कारण सात मिटरसम्म अग्लो छाल बन्न सक्ने र ठूलो वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
त्यसका कारण बाढी र पहिरो जान सक्ने बताइएको छ।
फिलिपिन्सका ३९ प्रान्तहरूमा आँधीको चेतावनी दिइएको छ।
फिलिपिन्समा नियमतिम रूपमा आँधी आउने गरेको छ।
सन् २०१३ मा आएको सुपर टाइफुन हाइयानका कारण सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ जना प्रभावित भएका छन्।


















