
काठमाडौँ, ४ असोज । प्रतिनिधि सभा अन्तर्गतका १० बिषयगत समितिका सभापतिको शुक्रबार हुने निर्वाचन प्रकृया आजबाट सुरु हुँदैछ ।
संघीय संसद्को सचिवालयका अनुसार आज बिहिबार ११ बजे देखि ५ बजेसम्म सभापतिका उम्मेदवारले प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।
सबै १० वटा समितिमा दर्ता भएका प्रस्ताव दर्ता समयअनुसार मिलाई आजै बेलुका उम्मेदवारको सूची प्रकाशन गर्ने संसद सचिवालयले जनाएको छ ।
यसरी दर्ता भएका प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने छ ।
जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै सभापतिमा विजयी घोषणा गरिनेछ ।
सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्विरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।
शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति , अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।
संसदीय व्यवस्थामा समितिहरुलाई मिनी पार्लियामेन्ट भन्ने चलन छ । संसदभित्र सहमति जुट्न नसकेका विषयहरुमा यस्ता समितिमा छलफल गरी सहमति जुटाउने गरिन्छ ।