काठमाडौं, २४ आषाढ। प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले सभामुखप्रति सम्मान नजनाउने अभिव्यक्ति दिएपछि संसद्मा तीव्र तनाव उत्पन्न भएको छ।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका विपक्षी दलका सांसदहरूले आ(आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
विपक्षीको अवरोधबीच सभामुख अर्यालले सुरुमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारलाई र त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्ने समय उपलब्ध गराउनुभयो।
तर, बैठकमा बोल्ने क्रमको सुरुमै सांसद राईले सभामुखलाई लक्षित गर्दै, “म सभामुखज्यूलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?” भनी व्यक्तिगत अपमानबोधक प्रश्न गरेपछि बैठकको माहोल एकाएक बिग्रन गयो।
सभामुखको कडा आपत्ति र चेतावनी
सांसद राईको अमर्यादित अभिव्यक्तिप्रति सभामुख अर्यालले तत्कालै कडा आपत्ति जनाउँदै आक्रोश व्यक्त गर्दै संसद्को गरिमा र मर्यादा कायम राख्न आग्रह गर्नुभयो । सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन पनि दिनुभयो। आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न चेतावनी दिँदै सभामुख अर्यालले सोध्नुभयो, “सभामुखको अवहेलना गर्दै हुनुहुन्छ।”
सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न सचेत गराउँदै त्यसपछि थप बोल्नका लागि समय उपलब्ध गराउनुभएन बरु बीचमै रोक्नुभयो।
रास्वपाद्वारा नियमापत्ति र बैठक स्थगित
सांसद राईको उक्त भनाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले तत्कालै संसद्मा नियमापत्ति जनाउनुभयो। उहाँले उक्त अमर्यादित शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गर्नुभयो।
संसद्मा जारी नियमापत्ति र विरोधका बीच सभामुख अर्यालले वातावरण शान्त पार्ने प्रयास गर्दै पुनः सांसद राईलाई बोल्ने अनुमति दिनुभयो। तर, सांसद राईले आफ्नो अडान नछोडी बोल्दाबोल्दै बीचमै रोकेर सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो।








