Prakash Adhikari July 8, 2026
काठमाडौँ, २४ असारः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको आर्थिक बर्ष २०८३ ८४ को मौद्रिक नीतिमा गति,दिशा र कार्यक्रम उल्लेख नभएकोले पूँजी बजारका लगानीकर्ता अन्योलग्रस्त हुँदा शेयर बजार ओरालो लागेको ठानिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो । आज २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घट्यो ।
नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर, प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने कर्पाेरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Share Now