काठमाडौं, ७ साउन। नेपालको आन्तरिक उडानको भरपर्दो, सुरक्षित र यात्रुहरुको रोजाईको लोकप्रिय मानिएको बुद्ध एयरले आफ्नो उडानमा एटीआर ७२(६०० सेरिजका जहाज भित्र्याउन लागेको छ।
बुद्धले ७२ सिटका यी एटीआर जहाज फ्रान्सबाट ल्याउन लागेको हो।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार यो सिरिजको पहिलो जहाज शनिबार काठमाडौं आइपुग्ने छ।नेपाली पाइलट तालिममा रहेकाले यो जहाज पाइलटको टोलीले ल्याउने छ। कम्पनीले ६ महिनाअघि नै यी जहाजहरु ल्याउने प्रक्रिया अगाडि बढाएको थियो।
जोशीका अनुसार अहिले रहेका जहाजको तुलनामा एटीआर ७२-६०० धेरै एडभान्स्ड छ। जहाज १० वर्ष पुरानो हो। बुद्धसँग अहिले एटीआर ७२-५०० जहाज १५ वटा छन्।
एटीआर ७२-६०० जहाज आएपछि प्रमुख आन्तरिक गन्तव्यमा उडान संख्या बढाउने योजनामा बुद्ध एअर रहेको छ । २० दिनभित्र बुद्धले अर्को जहाज पनि आईपुग्ने बताएको छ।
बुध्द एयरले नेपालको आन्तरिक उडानमा ५७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
यसले गत आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको तथ्य सार्वजनिक भएको छ।
कम्पनीले सन् २०२५ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९६ मा स्थापना भएको बुद्ध एअरले विचक्र्याफ्ट जहाजबाटे सेवा दिन थालेको थियो ।कम्पनीले हाल एउटा एटीआर–४२ र १४ वटा एटीआर–७२ एयरक्राफ्टमार्फत् सेवा दिँदै आएका छन् ।
कम्पनीले आन्तरिक उडानसँगै भारतको वनारस र कोलकतामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।








