काठमाडौं, १७ भाद्र । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण निम्तिएको विपत्तिपछि नेपाललाई विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भारतले बाढी आएको दिन भदौ ११ गतेदेखि सहयोग उपलब्ध गराउन थालेको थियो।
भारतले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको प्रधानमन्त्रीको सचिवालयले मङ्गलवार राति जनाएको छ।
उद्धारकार्यमा सहभागी हुन भारतबाट ११ जनाको टोली पनि नेपाल आइसकेको छ। भारतले २२ फीटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ।
चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चीनबाट आएको उद्धार टोली प्रभावित क्षेत्रमा खटेको छ।
चीनले ५० टन राहत सामग्री पनि उपलब्ध गराएको छ ।
नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलिब्रिज सहयोग गर्न अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
क्यानडाको सरकारले मानवीय सहयता अन्तरगत ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदै छ।
श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको छ भने बाङ्ग्लादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।
अमेरिकाले ५ लाख अमेरिकी डलर र अस्ट्रेलियाले १० लाख अमेरिकी डलर (नगद) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १ करोड डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ ।
कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ।
स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्र्याङ्क प्राप्त भएको छ। उक्त रकम संयुक्त राष्ट्र सङ्घबाट खर्च हुने गरी उपलब्ध गराइएको हो।
एशियाली विकास ब्याङ्क (एडीबी)बाट अनुदानका लागि ५० लाख अमेरिकी डलर, विश्व ब्याङ्कबाट १६.७ करोड अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा र एडीबीबाट प्राविधिक सहायताका लागि १.५ लाख अमेरिकी डलर उपलब्ध गराइने प्रतिबद्धता आएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यूके र जापानसहितका मित्रराष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको छ भने ईयू र राष्ट्रसङ्घका निकायहरूबाट पनि सहयोग प्राप्त भइरहेको छ।








