विदुर(नुवाकोट), १७ भाद्र । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरूमा अनिश्चित समयका लागि पठनपाठन बन्द गरिएको छ।
राष्ट्रिय समाचार समितिका अनुसार बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन्। बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ।
बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले राससलाई बताउनुभयो।
उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुने छ।
शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउन योजना बनाइने छ।
त्रिशूली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्।
शिक्षा शाखाको तथ्याङ्कअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कूलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ।
उत्तरगया इङ्लिश बोर्डिङ स्कूलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एउटा ब्लकमात्र बाँकी छ।
चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्रावास, शहीद जगत्प्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिश बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ भएको राससले जनाएको छ।
रामचन्द्र आविको एउटा र उत्तरगया इङ्लिश बोर्डिङका दुईवटा बस बाढीले बगाएको छ।
किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढी–७ स्थित शिलादेवी मावि बाढीबाट प्रत्यक्ष र वडा नं ५ को महादेव मावि प्रभावित बनेको छ।








