काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संबोधन गर्ने क्रममा आफ्नो सरकार आएपछि मुलुकको आर्थिक परिसूचक सकारात्मक भएको र चालु आर्थिक बर्षको पाँच महिनाको अवस्था विगतको भन्दा झनै राम्रो भएको झूटो दावी गर्नुभयो ।
तर प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा संबोधनका क्रममा उल्लेख गरेका प्रायः तथ्यांक गलत भेटिएका छन् । उल्लेख गरिएको तथ्यांकमा राजस्व संकलनको तथ्यांक मात्र सही भेटिएको छ,जुन ३२ प्रतिशतले बढेको छ।
प्रधानमन्त्रीले पूँजीगत खर्च २५ दशमलव ३ प्रतिशतले वृद्धि भएको बताएका छन्। विकास खर्चको हिसाब राख्ने डा.महालेखा नियन्त्रकको कार्यालयले हिजोसम्मको खर्च निकै कम भएको देखाएको छ। तथ्यांक अनुसार विकास खर्च जम्मा १५.४३ प्रतिशत मात्र भएको छ।
मूल्य वृद्धि दरमा पनि प्रधानमन्त्रीले संसद र संसदमार्फत सार्वभौमसत्ता सम्पन्न जनतालाई ढाँटनुभो । उहाँले मूल्य वृद्धि दर ३.७ प्रतिशत मात्र रहेको उल्लेख गर्नुभयो तरराष्ट्र बैंकको तथ्यांकमा ४.२ प्रतिशतले भाउ बढेको उल्लेख छ।
प्रधानमन्त्रीले व्यापारघाटा १.०५ प्रतिशत घटेको उल्लेख गर्नुभयो तर यो अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव ३८ प्रतिशतले बढेर ४५४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
प्रधानमन्त्रीले ५७ अर्ब रुपैयाँको शोधनान्तर घाटालाई लुकाउनुभएको छ भने चालु खाता घाटा बढेर ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको कुराको अपजस लिन पनि तयार रहनुभएन ।
ओली सरकार आएपछि विदेशी विनिमय सञ्चिती साढे ६ प्रतिशतले घटेर ९ सय ४३ करोडमा समेटिएको छ।
प्रधानमन्त्री ओलीले देशभर आर्थिक गतिविधि बढिरहेको दावी गरेपनि व्यवसायीहरु बजारमा मन्दी छाएको बताउछन्। सरकारले राजस्व उठाएर आफ्नो ढुकुटीमा थन्क्याउँदा विकास खर्च प्रभावित भएको छ, जसले गर्दा बजारमा ुक्यासफ्लोु नै रोकिएको छ।
विकास खर्च नभएकै कारण बैंकको ब्याज उच्च दरले बढेको छ। ओली प्रधानमन्त्री भएपछि विश्व बैंकले सार्बजनिक गरेको डुइङ बिजिनेस रिपोर्ट मा नेपालको अवस्था खस्किएको छ।
शेयर बजार घट्ने क्रम थामिएको छैन भने प्रत्यक्ष वैदेशिक लगानी समेत आधाले घटेको छ।
विदेशी लगानी गत वर्षभन्दा झण्डै आधा कम भित्रिएको छ। चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ७ अर्ब ४२ करोड रुपैयाँको मात्रै कुल विदेशी लगानीको प्रतिवद्धता आएको छ। गत वर्षको सोही अवधिमा १३ अर्ब १३ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानीको प्रतिवद्धता आएको थियो।
प्रधानमन्त्रीले भने २५ प्रतिशतले लगानी बढेको दाबी गर्नुभएको छ।


















