पोखरा(कास्की),२२ पुस । गण्डकी प्रदेशमा कार्य ब्यवस्था परामर्श समितिको बैठकले मनाङ खबाट गण्डकी प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे “राजीब गुरुङ” लाई सपथ खुवाउन नमिल्ने निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएका गुरुङले आफुलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए । गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो ।
शुक्रबार सबै दलका प्रतिनि धिको प्रतिनिधित्व नभएकोले कुनै निष्कर्ष निकाल्न नसके पछि आज आइतबार सो बिषयमा छलफल गरिएको थियो ।
पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरि गुरुङलाई ५ बर्ष कैदको फैसला सुनाएको थियो । सोही फैसलालाई बैशाखमा सर्वोच्चले सदर गरेपछि गुरुङ जेल गएका थिए । तर सर्वोच्चमा मुद्दामा पुनरावेदन गराएर धरौटीमा गुरुङ थुनामुक्त भएका थिए ।
यता गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीका अनुसार गुरुङलाइ पुनरावेदन गर्ने अधिकार मात्र दिएको हुनाले निर्वाचन ऐन २०७४ को धारा १६ अनुसार हाललाई सपथ गराउन नसकिने बताउनु भएको छ ।
गुरुङको सपथ गैह्रकानुनी हुने हुँदा उनलाई सपथ खुवाउन नसकिने पनि सभामुख अधिकारीले प्रष्ट पार्नु भएको छ ।


















