काठमाडौं, २२ पुस । प्रधानमन्त्री के पी शर्मा ओलीले प्रतिनिधिसभामा गर्नुभएको सम्बोधनमा विभिन्न सत्य र तथ्यहरु तोडमोड गरिएको उल्लेख गर्दै त्यसमा प्रश्न गर्न पाउनुपर्ने माग उठाएका कांग्रेस सांसदलाई बोल्न समय नदिएपछि आइतबार प्रतिनिधिसभामा चर्को नाराबाजी भएकोले संसद बैठक स्थगित गर्नुपरेको छ ।
सभामुख कृष्ण बहादुर महराले अहिले कार्यतालिकामा प्रधानमन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम नरहेको जवाफ दिएपछि काँग्रेस सांसद्हरु जर्याकजुरुक उठेर बेल घेर्न पुग्न लागेका थिए ।
विरोधकाबीच सभामुख महराले संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई निवृत्तिभरण सम्बन्धी विधेयक संसदमा पेश गर्नको लागि समय दिनुभएको थियो ।
सभामुख महराले प्रधानमन्त्रीको संम्बोधनमा प्रश्न गर्नको लागि सीमित सदस्यहरुको लागि मात्रै समय दिने बताउदै सांसद मिनेन्द्र रिजालको नामोच्चारण पनि गर्नुभएको थियो तर सांसद रिजालले प्रधानमन्त्रीसंग प्रश्न गर्न पाउनु सांसदहरुको अधिकारको कुरा भएकोले इच्छुक सबैलाई प्रश्न गर्न समय दिन माग गर्नुभयो ।
सो लगत्तै सभामुखले आईतबारको शुन्य समयको कार्यतालिका हटाएको घोषणा गर्दै रिजाललाई बोल्न दिएको समय समेत फिर्ता गरेका गर्नुभएको थियो ।
प्रतिपक्षी दलका सांसदहरुले सभामुख कृष्णबहादुर महराको शैली हुकुमी प्रकृतिको भएको आरोप लगएका छन् ।
कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई संबोधन गर्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति नदिनु हुकुमी शैलीको अभ्यास भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको संबोधनको अंश उल्लेख गर्दै भन्नुभयो,राष्ट्रनिर्माणमा प्रतिपक्षीलाई मिलौं भन्ने प्रधानमन्त्रीले तर संसदमा प्रश्न सोध्छु भन्दा त्यसको जवाफ दिन पनि नहुने, प्रश्नको सामना गर्न नसक्ने ?’
उहाँले प्रधानमन्त्रीले प्रश्न सामना गर्नु थिएन भने सिंहदरबारबाट मन्तव्य दिएको भए भइहाल्थ्यो किन सदन प्रयोग गरियो भन्ने प्रश्न पनि पत्रकारहरुसंग गर्नुभयो ।
‘नेका सांसद थापाले सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाउदै भन्नुभयो, प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं। तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो। हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो।’
‘
प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने अनुमति भएन भने संसद चल्न नदिने अडान कांग्रेसले लिएको छ ।




















