लण्डन(संयुक्त अधिराज्य),२० भाद्र(बीबीसी) । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने विषयमा आगामी सोमवार सांसदहरूले फेरि एकपटक मतदान गर्ने अवसर पाउने त्यहाँको सरकारले घोषणा गरेको छ।
समयअगावै आगामी अक्टोबर १५ मा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई हाउस अफ कमन्समा सांसदहरूले बुधवार अस्वीकृत गरेपछि यस्तो घोषणा आएको हो।
विपक्षी लेबर पार्टीका छायाँ अर्थमन्त्री जोन म्याकडोनल्डले लेबर पार्टीले चुनाव चाहेको थियो तर उसको प्राथमिकता कुनै पनि सम्झौता बिना युरोपेली संघ (ईयू) बाट ब्रिटेन बाहिरिने प्रक्रियालाई रोक्नु थियो भनेका छन्।

त्यसपछि प्रधानमन्त्री बोरिस जनसनले निर्वाचनका लागि समर्थन नगरेर विपक्षी नेता जेरमी कोर्बिनले ‘लोकतन्त्रलाई कायर तरिकाले अपमान गरेको’ आरोप लगाएका छन्।

यसैबेला प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।
आफू राष्ट्रिय स्वार्थ र परिवारप्रतिको इमानदारीबीच के छान्ने भन्नेबारे दोधारमा परेको उनले बताएका छन्।
आफ्नो भूमिकामा देखा परेको तनावको कुनै समाधान नभएको समेत उनको भनाइ छ।
सन् २०१६ मा ब्रिटेन ईयूमा रहनुपर्ने वा नपर्ने भन्नेबारे भएको जनमत सङ्ग्रहमा उनले ब्रिटेन ईयूबाट बाहिरिनु हुदैन भन्ने पक्षमा मतदान गरेका थिए।
उनका दाई बोरिस जोनसन भने ब्रिटेन ईयूबाट बाहिरिनु पर्ने पक्षमा उभिएका थिए।

बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका थिए।
उनको प्रस्तावको पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।


















