काठमाडौ, ३ माघ । सत्य निरुपण तथा वेपत्ता आयोगलाई पूर्णता दिन सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दुई आयोगलाई पूर्णता दिने विषयमा छलफल केन्द्रीत भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत सहभागी हुनुहुन्छ ।
आयोगसम्बन्धी विधेयकको मस्यौदामा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्श गरेपछि नेताहरुबीच छलफल भएको हो ।
दुवै आयोग गत वैशाखबाट पदाधिकारीविहीन छन् ।
सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । तर दलका नेताहरुबीच सहमति कायम नभएकोले आयोगका पदाधिकारी नियुक्तिमा बिलम्ब हुँदै आएको छ ।


















