काठमाडौं, ६ साउन। पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यो संगै देशभर संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
संक्रमितहरु मध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६ सय ९ जना निको भएर डिस्चार्ज भएका छन् ।
हाल देशभर ५ हजार ४ सय ७७ जना आइसोलेसनमा छन् ।
संक्रमित कहाँका ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८र८ जना, चितवन र मकवानपुरमा ५र५ जना तथा कैलाली, बझाङ र डोटीमा ४र४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २र२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।
गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण गरिएपछि कुल परीक्षण सङ्ख्या ३ लाख २३ हजार ८ सय ३५ पुगेको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
साउन ६ गते मङ्गलवार अपराह्णसम्मको तथ्याङ्क
- १७,९९४ कुल सङ्क्रमण
- ६०९ विगत २४ घण्टामा घर फिर्ता
- विगत २४ घण्टामा पीसीआर परीक्षण ३,९६३
- सक्रिय सङ्क्रमित ५,४७७
- देशभरि क्वारेन्टाइनमा २१,७०४
- अहिलेसम्म निको १२,४७७
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
सङ्क्रमण नभएका सात जिल्ला
नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण भए पनि अहिले सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ।
ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन्।
सक्रिय सङ्क्रमित ५ सय भन्दाबढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।
प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ १ सय ९ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १ हजार ९ सय १३ जना रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा १ सय ८, वागमतीमा ४ सय २१, गण्डकीमा ३ सय ८०, प्रदेश नं ५ मा ३ सय ७० र कर्णाली प्रदेशमा २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन्।


















