Prakash Adhikari August 6, 2020

 

 

काठमाडौं, २२ साउन । विगत २४ घण्टामा नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१ हजार ७ सय ५० पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको पुष्टि भएको छ । यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ६५ पुगेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको छ ।

एकै दिन कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको यो सर्वाधिक सङ्ख्या हो।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६ हजार २ सय ९६ छ।


उपत्यकामा बिहीवार थप ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

ती मध्ये ७६ जना काठमाडौं जिल्लाका, १० जना ललितपुर जिल्लाका र एक जना भक्तपुर जिल्लाका रहेका छन्।

पाँच सयभन्दा माथिको सङ्ख्यामा सङ्क्रमितहरू उपचाररत रहेका जिल्लाहरूमा काठमाडौं थपिएको छ। अन्य जिल्लाहरू पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन्।

सङ्क्रमित शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम रहेका छन्।

बिहिबार पर्साका ४२ जनामा बिहीवार सङ्क्रमण पुष्टि भयो भने कपिलवस्तुका ३२ जनामा, धनुषाका २४ जनामा र कैलालीका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

कोरोनाभाइरस ब्यानर

मृतक को – को हुन् ?

बिहीवार पुष्टि भएका पाँच मृतकहरू यस प्रकार छन् ः

१. मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको हो।

२. मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

३. सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाण्डूमा बुधवार मृत्यु भएको हो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

४. धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाण्डूमा गत शनिवार मृत्यु भएको थियो। उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ।

५. सप्तरी जिल्लाको रुपनि नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो। उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारेन्टाइनमा बसेको बताइएको छ।

परीक्षणको स्थिति
विगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ६ सय २२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २ सय ३३ जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ।

अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या ४ लाख नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा ९ हजार ४ सय ७० मानिसहरू क्वारेन्टाइनमा छन्।

 

Share Now

Leave a comment.