लद्दाख(भारत), ३० असोज(बीबीसी) । दशकौँदेखि भारतले हिमाली क्षेत्रमा लडाइँ गर्न बनाएको एउटा गुप्त सैन्य टोलीमा तिब्बती शरणार्थीहरूलाई भर्ती गर्दै आएको थियो। तर हालै एक लडाकुको मृत्यु भएपछि उक्त एकाइ चर्चामा आएको बीबीसीका आमिर पीरजादाले बताउनुभएको छ।
केही दिनअघि ५१ वर्षीय सैनिक नीमा तेन्जिनको लद्दाखको प्याङ्गोङत्सो तालनजिकै भएको बम विस्फोटमा मृत्यु भयो। सो क्षेत्र हालै चिनियाँ र भारतीय सेनाबीच तनाव भएको क्षेत्र हो। सैन्य स्रोतका अनुसार उनको मृत्यु भारत र चीनबीच सन् १९६२ मा युद्ध हुँदा बिच्छ्याइएको बम विस्फोट हुँदा भएको हो।
‘अगस्ट ३० को राति साढे १० बजेतिर तेन्जिन घाइते भएको सूचना पाएँ,’ तेन्जिनका दाजु नाम्दाखले भन्नुभयो, ‘मलाई तेन्जिनको मृत्यु भएको बताइएन। पछि एकजना साथीले मृत्यु भएको जानकारी दिए।’
परिवारका अनुसार तेन्जिन स्पेशल फ्रन्टीअर फोर्स एसएफएफका सदस्य हुनुहुन्थ्यो। सो एकाइमा ३,५०० जति सैनिक रहेको र तीमध्ये धेरैजसो तिब्बती शरणार्थी रहेको बताइन्छ।
तेन्जिन शरणार्थी हुनुहुन्थ्यो र उहाँले सेनामा ३० वर्षभन्दा बढी सेवा गरेको उहाँको परिवार बताउँछ।
भारतीय सेनाले सार्वजनिक नगरेको एसएफएफको बारेमा धेरै कुरा थाहा छैन। तर यो सैनिकहरू, परराष्ट्रनीतिका विज्ञ र सो क्षेत्रका पत्रकारहरूलाई थाहै नभएको कुरा पनि होइन।
तेन्जिनको मृत्युले भने भारतीय सेनामा पहिलो पटक तिब्बती शरणार्थीहरूको भूमिकालाई उजागर गरिदिएको छ।
तेन्जिन बस्ने लद्दाखको राजधानी लेहका स्थानीय बासिन्दा र तिब्बती समुदायका मानिसहरू २१ तोपको सैन्य सम्मानसहित साथ गरिएको उहाँको अन्तिम संस्कारमा सहभागी भएका थिए।
सत्तारूढ भारतीय जनता दलका नेता राम माधव पनि सहभागी हुनुभएको उहाँको अन्तिम संस्कारमा तेन्जिनको शवलाई भारतीय र तिब्बती झण्डा ओढाएर सैन्य ट्रकमा राखिएको थियो।
माधवले ट्वीट गर्दै तेन्जिन एसएफएफको सदस्य रहेको र भारतीय सीमाको रक्षा गर्दै वीरगति प्राप्त गरेका तिब्बती भएको लेखेका भएको थियो। उहाँले भारत चीन लेख्नुपर्नेमा भारत-तिब्बत सीमा लेख्नुभएको थियो,त्यसलाई पछि मेटियो ।

भारत सरकार र सेनाले आधिकारिक रूपमा केही नभने पनि तेन्जिनको अन्तिम संस्कारको समाचार राष्ट्रिय पत्रपत्रिकामा आएको थियो जसलाई भारतले चीनलाई दिएको कडा सन्देशको रूपमा व्याख्या गरिएको छ।
ूअहिलेसम्म एसएफएफ गुप्त थियो तर अब यसका बारेमा लेखिएको छ र म धेरै खुसी छु,ू नाम्दाखले भन्नुभयो।
ूहामीले सन् १९७१ मा लड्यौँ जुन गोप्य राखियो र सन् १९९९ मा पाकिस्तानविरुद्ध कारगिलमा लड्यौँ, त्यो पनि गोप्य राखियो। अहिले पहिलो पटक यसको अस्तित्वलाई स्वीकारिएको छ।ू
विज्ञहरूका अनुसार एसएफएफ सन् १९६२ को भारत(चीन युद्धपछि गठित फौज हो।
‘यसको लक्ष्य भारत आएका तिब्बती र उचाइमा लड्ने अनुभव भएकाहरूलाई वा सन् १९६० सम्म चिनियाँ सेनाविरुद्ध लडेका तिब्बती गुरिल्ला शक्ति चुशी गान्द्रुकका सदस्यहरूलाई भर्ती गर्ने थियो’, तिब्बती पत्रकार र चलचित्रकर्मी काल्साङ रिन्चेनले भन्नुभयो।
उहाँले एसएफएफका पूर्वसैनिकहरूसँग अन्तर्वार्ता लिएर एउटा वृत्तचित्र बनाउनुभएको छ।

सन् १९५९ मा चीनविरोधी अभियान असफल भएपछि दलाई लामा तिब्बतबाट भागेर भारतमा आएर बस्नुभएको छ । उहाँसंग १० औं हजार तिब्बतीहरू भारत आएर शरणार्थीका रूपमा बसेका छन्।
भारतले दलाई लामालाई समर्थन गर्छ र उहाँसँगै आएका शरणार्थीका कारण भारत(चीन सम्बन्ध तीतो भैरहेको छ। त्यसलाई सन् १९६२ को युद्धले मलजल गर्यो।
अमेरिकी सीआईएको सहयोगमा तात्कालिक भारतीय गुप्तचर प्रमुख बीएन मल्लिकले एसएफएफ खडा गरेको मानिन्छ।
अमेरिकाको भूमिकाको बारेमा विवाद छ। केही विज्ञहरू यसलाई अमेरिकाले समर्थन मात्रै गरेको मान्छन् भने केही विज्ञले अमेरिकाले १२ हजार तिब्बतीलाई तालिम दिएको र एसएफएफ गठन गर्न केही आर्थिक सहयोग दिएको मान्छन्।
‘धेरै जसो तालिम अमेरिकीले दिएका थिए’, सन् १९६२ मा एसएफएफ भर्ती भएका जाम्पा भन्नुहुन्छ, ‘अलिअलि हिन्दी बोल्ने सीआईएका एक व्यक्तिले हामीमध्ये हिन्दी बोल्ने चार जनालाई तालिम दिएका थिए। ती चार जनाले अरूलाई तालिम दिएका थिए।’

सो फौजमा सुरुमा तिब्बतीहरू मात्रै भर्ती गरिए पनि पछि गैरतिब्बतीहरू पनि भर्ना गरिएको । यसको नेतृत्वमा भारतीय सेनाको उच्चाधिकारी रहेको बताइन्छ।
यो सीधै सङ्घीय सरकारको मातहत रहेको विज्ञहरू बताउँछन्।
‘यसको मूल उद्देश्य चीनसँग गोप्य रूपमा लड्ने र गुप्तचरी गर्ने रहेको छ’, रिन्चेनले भने।
चीनले भने यसको अस्तित्वको बारेमा थाहा नभएको बताउँछ।
‘प्रवासमा रहेका तिब्बतीहरू भारतीय सशस्त्र बलमा रहेका मलाई जानकारी छैन। तपाईँ भारतीय पक्षलाई सोध्न सक्नुहुन्छ’, हालैको एक पत्रकार सम्मेलनमा एक चिनियाँ प्रवक्ताले भन्नुभएको थियो।


















