Prakash Adhikari March 7, 2022

 

बीरगञ्ज(पर्सा), २३ फागुन । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेको छ।

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई १३२ केभी क्षमताको विद्युत् आपूर्ति गर्ने जनाएको हो।

करिडोरमा सञ्चालन भइरहेका, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई प्राधिकरणले त्यस्तो आग्रह गरेको हो।

बारा–पर्सा करिडोरका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो हुनेछ।

उद्योगले आफ्नो परिसरमा सबस्टेशन भने आफैँले निर्माण गर्नुपर्ने छ। महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकाले त्यसको तुलनामा सबस्टेशन निर्माण महङ्गो पर्दैन।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा दुई हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ।

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरीया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्थालगायत विषयमा जानकारी लिएको छ।

कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकाले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको जानकार दिनुभयो।

घिसिङले वीरगञ्ज, पोखरीया र शुख्खाबन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताउनुभयो। ‘

त्यस क्षेत्रमा खुल्ले उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी २ हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौँ, तत्काल विद्युत् माग गर्ने उद्योगहरूलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजती थप विद्युत् आपूर्ति उपलब्ध गराउने छौँ,’ घिसिङले भन्नुभयो।

पर्साको पोखरीयामा ४०० केभी र बाराको प्रसौनीमा १३२ केभी सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेशन निर्माण गरी उक्त लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पु¥याइने छ ।

बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेशनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले बताए।

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगका विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ।

यसबाट प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकाले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणले जनाएको छ।

उद्योगहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको छ। रासस

Share Now

Leave a comment.