काठमाडौं, २३ फागुन । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियादसहित तीन सहरमा उडान अनुमति प्राप्त भएको छ।
निगमलाई साउदी अरेबियाको ‘जनरल अथोरिटी अफ सिभिल एभिएसन’ ले औपचारिक रुपमा अनुमति प्रदान गरेको हो।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ। अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको हो।
निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान शुरु गर्ने प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको हो।

अध्यक्ष युवराजलाई अर्को सफलता
निगमले आफ्नो बेडामा बाइडबडी जहाज भित्र्याएपछि आफ्नो गन्तब्य विस्तार गर्न नसकिरहेको र विगत २ बर्षदेखि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको कारण निगमका नियमित उडान गन्तव्य पनि संकुचित बन्दै गएको बेला नेपालको श्रम गन्तव्य मानिएको साउदीका तीन शहरमा निगमले पाएको उडान अनुमति कार्यकारी अध्यक्ष अधिकारीको इमान्दार प्रयत्नको नतिजा मानिएको छ ।
निगमका जहाजलाई उडान जोखिम नहुने खतराजन्य सामग्री ढुवानीको अनुमति प्राप्ति र साउदीको गन्तब्य विस्तारले कार्यकारी अध्यक्ष अधिकारीको कार्यकालमा निगमले गति लिने विश्वास जाग्दै आएको कर्मचारीहरु बताउछन् ।



















