Prakash Adhikari April 24, 2022

 

काठमाडौँ, ११ वैशाख । आजदेखि मेलम्ची नदीको कञ्चन पानी काठमाडौंबासीको घरघरमा आउने भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खोले पछि घर–घरमा पानी वितरण हुनेछ ।

मेलम्ची आयोजनाबाट राजधानीमा पानी वितरण भएको यो दोस्रो पटक हो । गत बर्ष पनि मेलम्ची खानेपानी आयोजनाबाट आएको पानी काठमाडौंमा वितरण भएको थियो ।

तर बर्षा लागेसंग आयोजनाले असार १ गते पानीको मुहान बन्द गरेको र त्यही दिन मेलम्चीमा ठूलो बाढी आएर यसको मुहानको बाँधका संरचना क्षतिग्रस्त भएपछि त्यसको मर्मत संभार गरेर आजदेखि पानी वितरण थालिएको हो । मेलम्चीमा साउन १६ गते पनि त्यस्तै ठूलो बाढी आएको थियो ।

आयोजनाको बाँधस्थल र सुरुड.को मर्मतसंभारपछि चैत्र २९ गते छोडिएको पानी सुन्दरीजलमा बैशाख ५ गते आइपुगेको थियो ।

सो पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जम्मा गरी प्रशोधन गरेपछि आजबाट नियमित रुपमा उपभोक्ताको धारामा पठाउन लागिएको हो ।

नेपाली कांग्रेसका तात्कालीन सभापति तथा २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा काठमाडौं क्षेत्र नं १बाट उम्मेदवार बन्दा मध्य वानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय अगाडिको चौरमा आयोजित आमसभामा मेलम्चीबाट पानी ल्याउने कुरा गर्नुभएको थियो । उहाँले काठमाडौं उपत्यकामा नै पानीको संकट भएको उल्लेख गर्दै सिन्धपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौं ल्याएपछि खानेपानी मात्र हैन सडक पखाल्न पुग्ने पानी आउने बताउनुभएको थियो ।

तर तात्कालीन प्रधानमन्त्री भट्टराईलाई प्रतिगामी शक्तिहरु मिलेर चुनावमा हराए । उहाँको सपना अधुरै रह्यो । आफ्ना सपना पूरा गर्न उहाँ पुन २०५० सालको उपनिर्वाचनमा उठ्नुभयो । त्यसबेला पनि उहाँलाई हराइयो । २०५६ सालमा उहाँले पर्साबाट चुनाव जित्नुभयो र प्रधानमन्त्री पनि बन्नुभयो । तर छोटो समय प्रधानमन्त्री बन्नुभएका भट्टरार्ईले यसलाई त्यति अगाडि बढाउन पाउनुभएन । तर उहाँको २०६६ सालमा निधन भयो । उहाँको निधनको १२ बर्ष वितेपछि उहाँले देख्नुभएको एउटा सपना पूरा हुन लागेको छ । यो आयोजना दोश्रो चरणमा लार्के र याड.ग्रीबाट पानी ल्याएर मेलम्चीमा मिसाउने योजना छ । त्यसपछि राजधानीमा पानीको संकट दशकौंसम्म टर्नेछ ।

खानेपानीमन्त्री चौधरीले मेलम्ची आयोजनाबाट पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताउँदै भन्नुभएको छ, “प्रधानमन्त्री शेरबहादुर देउवाको सङ्कल्प र पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको छु ।”

मन्त्री चौधरीले आयोजनालाई सुरक्षित र दीर्घकालीन बनाउनेबारे विस्तृत अध्ययन भइरहेको र मुहान क्षेत्रका भौतिक संरचना तथा तटीय क्षेत्रको संरक्षणका लागि विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो ।

गत माघ ७ गते राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो ।

खानेपानी मन्त्रालय र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच गत माघ ७ गते सम्झौता भई त्यसको एक हप्तापछि (माघ १४ गतेदेखि) क्षतिग्रस्त आयोजनाको मर्मत र सफाइको काम सुरु भएको थियो ।

मन्त्रालय र कम्पनीबीच ९० दिनमा पूरा गर्नेगरी भएको सम्झौता निर्धारित समयभन्दा १५ दिनअगावै सम्पन्न भएको छ । कम्पनीले समयमै काम सम्पन्न गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरण गरी २४सै घण्टा काम थालेको थियो ।

 

आयोजनाले आउँदो वर्षायाममा मुहान र तटीय क्षेत्रमा बाढीले फेरि क्षति नगरोस् भनेर पूर्वसूचना घण्टी (अर्ली वार्निड. सिष्टम) जडान गरिएको छ  । मौसम खराब हुनेबित्तिकै त्यसले पूर्वसूचना दिन्छ र त्यस्तो स्थितिमा सबै ढोका बन्द हुनेछन् । यसले आयोजनाको मुहानमा विगतमा जस्तो ठूलो क्षति हुन दिँदैन ।

वर्षायाममा मेलम्चीमा बाढी र पहिरो आउने भएकोले पानीको गुणस्तर पनि कमजोर हुने र आयोजनाका संरचना क्षति हुनसक्ने संभावना भएकोले आयोजनाको मुहान थुनेर सुरुड. बन्द गर्ने गरिएको छ । मेलम्चीको पानी नआउँदा बागमती नदीबाट दैनिक ९ करोड लिटर र भक्तपुरको महादेवखोलाको जलाशय क्षेत्रबाट आवश्यक पानी सुन्दरीजलमा जोड्ने योजना मन्त्रालयको छ । थप अपुग पानी अहिले जस्तै भूमिगत रूपमा सङ्कलन गरी प्रशोधनपश्चात् वितरण गरिनेछ ।

Share Now

Leave a comment.