Prakash Adhikari April 24, 2022

 

सानेपा(ललितपुर), ११ बैशाख । नेपाली कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महानगर पालिकाको मेयर उपमेयरको टिकट दिने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्यायोजन गरेको छ ।

आज दिउँसो पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकले “यही २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी विधानको व्यवस्था बमोजिम सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको राय सहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाण्डौ र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने” निर्णय गरेको हो ।

यस अगाडि आजै नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको गठन गरी समितिको बैठक बसेको थियो । कांग्रेस संसदीय समितिमा पार्टी पदाधिकारीका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल थपिनुभएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने व्यवस्था छ ।
कांग्रेसमा सभापति १, उपसभापति २,महामन्त्री २,कोषाध्यक्ष १, सहमहामन्त्री ८, कोषाध्यक्ष १ र पार्टी प्रवक्ता १ पदाधिकारी रहने व्यवस्था छ ।

कार्य सम्पादन समितिको आजको बैठकले विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय गरेको थियो ।

Share Now

Leave a comment.